- असार ०६, २०८०
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कानुन बनाउँदा उडन्ते नभई धर्ती सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज (शुक्रबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन्।
अन्तर्राष्ट्रिय समितिको पूर्व सभापतिसमेत रहेका साहले कानुन बनाउँदा उड्ने नभई मुलुकको माटोसुहाउँदो बनाउनुपर्नेमा जोड दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी आजपा साहले व्यवहारिक रुपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए। साथै समितिको बैठक कार्यतालिका बनाएर चलाउन माग समेत उनले गरे।
साहले संविधानमा ३१ वटा मौलिक हक राखिएको भएपनि कार्यान्वयन एउटा पनि हुन नसकेको टिप्पणी गरेका छन्। उनले नेपालमा दुनियाँमा नभएका मौलिक राखिएको भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताए।
‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन्। दुनियाँमा नभएको मौलिक हकहरु छ। तर कार्यान्वयन एउटा पनि भएको छैन, त्यो कुराको हेक्का राख्नुपर्छ। हामीले कानुन बनाउँदा उड्ने होइन कि धर्तीलाई सुहाउँदो हुनुपर्छ। वस्तुवादी हुनुपर्छ। सबैलाई स्वीकार्य हुनुपर्छ। सबैले स्वीकार्ने खालको हुनुपर्छ,’ आजपा अध्यक्ष साहले भने।
टिप्पणीहरू: