- असार ०६, २०८०
मुम्बई । सुरैया भारतीय सिनेमा इतिहासमा सबैभन्दा महान् र उत्कृष्ट अभिनेत्रीहरू मध्ये एक मानिन्छिन् । सुरैयाले ७० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छिन् भने ३३८ गीत गाएकी छिन् । उनी १२ वर्षको उमेरदेखि नै आफ्ना मामासँगै फिल्मका सेटहरूमा जान्थिन् ।
एक पटक फिल्म ‘ताजमहल’ को सेटमा निर्देशकले उनलाई जवान मुमताज महलको भूमिका दिए ।
सुरैयाले अल इन्डिया रेडियोमा बाल कार्यक्रममा पनि काम गरिन् । यहीँ नौशादले उनको गायनलाई चिने र उनलाई फिल्म शारदा (१९४२) मा मेहताबको लागि गाउने मौका दिए । यसपछि, उनलाई पाश्र्व गायनको लागि धेरै प्रस्तावहरू आउन थाले ।
यसपछि सुरैयाको नाम फूल, सम्राट चन्द्रगुप्ता, आज की रात, दर्द, दिल्लगी, नाटक, अफसर, काजल, दास्तान, सनम र चार दिन जस्ता धेरै संगीतमय फिल्महरूसँग जोडिएको थियो । उमर खय्याम (१९४६), प्यार की जीत (१९४८), बडी बहन (१९४९) र दिल्लगी (१९४९) जस्ता फिल्मबाट सुरैया आफ्नो करियरको उचाइमा पुगेकी थिइन् ।
सुरैयाले दिलीप कुमार भन्दा बढी पारिश्रमिक लिन्थिन् । इन्डियन एक्सप्रेसका अनुसार, सुरैयाले दिलीप कुमार, देव आनन्द र अशोक कुमार जस्ता अभिनेताहरू भन्दा बढी पारिश्रमिक लिएर काम गरेकी थिइन् ।
त्यही समयमा, देव आनन्दसँगको उनको सम्बन्धबारे पनि समाचार आएको थियो । करियरको शिखरमा, सुरैया देव आनन्दसँग प्रेममा परिन् । दुवैले सँगै सात फिल्ममा काम गरे ।
देवले उनको लागि हीराको औंठी किन्न ऋण लिए । त्यतिबेला उनी देवभन्दा ठूला स्टार थिइन् । साथै, देव हिन्दू थिए, त्यसैले उनकी हजुरआमा यो सम्बन्धको विरुद्धमा थिइन् । हजुरआमाले देवले दिएको औंठी समुद्रमा फ्याँकिदिइन् र निर्देशकहरूलाई उनीहरूको रोमान्टिक दृश्यहरू हटाउन भनिन् ।
देवले विवाह गर्ने र अभिनय छोड्ने कुरा पनि गरे, तर सुरैया यसमा सहमत भइनन् ।
त्यसपछि दुवै अलग भए । यद्यपि, यसले सुरैयामा गहिरो प्रभाव पार्यो र उनले कहिल्यै विवाह गरिनन् । पछि देव आनन्दले १९५४ मा कल्पना कार्तिकसँग विवाह गरे ।
ब्रेकअप पछि सुरैयाको करियर पनि प्रभावित भयो । १९५० को दशकमा उनका धेरै फिल्महरू असफल भए । यद्यपि, मिर्जा गालिबले उनलाई १९५४ मा केही सफलता दिए । फिल्म हिट भयो । उनले जवाहरलाल नेहरूबाट पनि प्रशंसा पाइन् । उनले भने, “तपाईंले मिर्जा गालिबको भावनालाई जीवन्त बनाउनुभयो ।
१९६३ मा फिल्मबाट अवकाश लिइन्
सुरैयाले १९६३ मा फिल्म छोडिन्, जसको पछाडि दुई कारणहरू भएको मानिन्छ, एउटा त्यही वर्ष उनका बुबा अजिज जमाल शेखको मृत्यु थियो, र अर्को उनको स्वास्थ्य समस्या थियो ।
१९६४ मा प्रदर्शित चलचित्र रुस्तम सोहराब, जसमा पृथ्वीराज कपूरले पनि अभिनय गरेका थिए, फ्लप भयो । यसपछि उनी न त चलचित्रमा देखा परिन् न त पाश्र्व गायनमा फर्किइन् । उनको २००४ मा मृत्यु भयो ।
टिप्पणीहरू: