सोमबार, ०९ भदौ २०८२

भृकुटीमण्डपबाट निस्केका कबाड व्यवसायीले घेरे काठमाडाैं महानगरपालिका


काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार गरेकाे भन्दै कबाड व्यवसायीले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । 

काठमाडौंमा प्रदर्शन गर्दै उनीहरुले कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा भृकुटीमण्डपबाट निस्केकाे जुलुस नाराबाजी गर्दै महानगरको कार्यालय घेराउ गर्न पुगेको हो । 

बालेन चोर देश छोड, कबाड व्यवसायमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, अदालतको आदेश पालना गर, व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगायतका नारा उनीहरुले लगाएका छन् । 

कवाडको आन्दोलनपश्चात कबाड व्यवसायी वार्तामा बस्न तायर भए पनि महानगरले मिडियालाई वार्तास्थलमा रोकेपछि व्यवसायीले कार्यालयबाट बार्ता नगरी बाहिरिएका छन् । 

कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । ‘अब हामी पछाडि हट्ने छैनौं । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं । कि गर्छौं, कि मर्छौं भनेर अब हामी लागिपरेका छौं । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ,’ उनले भने ।

कवाड आन्दोलन संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए ।

कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए । राज्यको आतंक बन्द नगरिएसम्म व्यवसायीक सुरक्षाका लागि आन्दोलन जारी रहने उनले बताए । 

यसैबीच अदालतको आदेश विपरित कामाठाडौं महानगरले कबाडमाथि तोडफोड सहित अत्याचार गरिरहेकाले त्यो बन्द गरी कानून अनुसार व्यापार व्यवसाय गर्न दिनुपर्ने आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जनाएका छन् । 

‘सम्मानित सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाडमाथि गरिरहेको तोडफोड सहितको अत्याचारको बिरुद्ध आज कबाड व्यवसायीहरुले प्रदर्शन गरेको छ । कानून अनुसार हरेक नेपालीले बिना रोकटोक व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित महानगरको यो हस्तक्षेप निन्दनीय छ । लाखौं नागरिकको रोजीरोटीसंग जोडिएको यो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुको साटो कानूनी शासनको उपहास गर्दै लुटपाट, छिनछोर, तोडफोड, कुटपिट लगायतका अपराधिक कार्यमा संलग्न जोसुकैलाई तुरुन्त कारवाही गर्न नेपाल सरकार गृह प्रशासनको गम्भिर ध्यानाकर्षण गराउदछु,’ साहले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ