बिहिबार, २९ साउन २०८२

रविबारे प्रधानमन्त्री- भिजिट भिसामा गएर दुई पटक बिहे गर्नेले प्लेन चढ्ने सबैलाई ‘बेचिएको’ भन्दैछन्


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसामा गएर फर्किएकाे व्यक्तिले भिजिट भिसाबारे प्रश्न गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसाबारे रविमाथि व्यङ्ग्य गरेका हुन्।

उनले भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिले अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेकाे बताए।

‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्’, उनले भने, ‘यसका पछाडी मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ।’

प्रधानमन्त्री ओलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताए।

‘लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ। तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ’, उनले भने, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो?

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ