बिहिबार, २९ साउन २०८२

०८४ काे निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने स्पष्ट गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही समीकरण अगाडि बढ्ने स्पष्ट गरेका हुन्। 

उनले लोकतन्त्रको सम्वद्र्धनका लागि नभई त्यसको उपभोग गर्ने त्यसको हुर्मत लिने अभिष्ट भएकाहरुले प्रणालीमाथि प्रहार गर्न खोजे पनि आफूहरु प्रणालीको रक्षाका लागि दृढ भएको बताए।

प्रधानमन्त्री ओली अहिलेको सरकार विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, राजनीति र नीतिमा उत्पन्न अस्थिरतालाई अन्त्य गरी नीतिगत स्थिरता कायम गर्ने, थालेको काम सक्ने– प्रतिनिधिसभाको यस कार्यकालमा हुन नसक्ने कामलाई थाती राख्ने, र मुलुकलाई बोझ बनेका असान्दर्भिक योजना/कार्यक्रमहरु खारेज गर्ने क्रममा रहेको बताए।

उनले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताए।

‘लाखौँ जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ’, प्रश्नात्मक शैलीमा प्रधानमन्त्री ओलीले भने, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो? त्यो चाहिँ कानुनी कारबाही हो? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो? कुन कुन व्यक्तिमाथिको थुना जायज हो?’

उनले यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने बताए।

प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने स्पष्ट गर्दै संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अङ्गहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्नेमा जोड दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ