- असार ०७, २०८०
दशरथचन्द (बैतडी) । बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले अन्दाजी ३४ वर्षीय बेलमती धामीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
आइतबार राति ११ बजेतिर घरमा सुतिरहेको अवस्थामा नै घाँटीमा बञ्चरो प्रहार गरी बेलमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिए । “मृतक बेलमती यज्ञकी आफ्नै काकी हुन्, उनको घाँटी र मुखमा बञ्चरो प्रहार गरिएको छ”, उनले भने, “घटना के कति कारणले भएको हो अनुसन्धान भइरहेको छ ।”
हत्या गर्ने यज्ञसिंह हुलाकका अतिरिक्त कर्मचारी हुन् । कैलालीमा रहेका उनी यही भदौ १९ गते मात्रै घर आएका आफन्त जयसिंह धामीले जानकारी दिए । चार दिनपहिले मात्रै घर आएका उनले यसअघि आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन् ।
“चार दिनपहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बञ्चरोले घाँटीमा हिर्काएर घरभित्रै मारिदिए”, जयसिंहले भने । मृतकका श्रीमान यसअघि मृत्यु भएको थियो । बेलमतीका चार छोरी र एक छोरा छन् । शवपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । हत्या गर्ने यज्ञलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिप्पणीहरू: