शुक्रबार, ३० साउन २०८२

भदौमा अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन हुने, विश्वभरका नेपाली युवालाई भर्चुअलमा जोड्ने अपेक्षा


काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल (एनवाइएफएन) ले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ।

आगामी भदौ १ गते (१७ अगस्ट, २०२५) साँझ ५ बजेदेखि ९ बजेसम्म भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा १ करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको छ।

संगठनका प्रबक्ता निरोज पौडेल का अनुसार ‘नेपाली युवाहरूलाई विश्वव्यापी रूपमा जोड्ने’ (Connecting Nepali Youths Globally) नारासहितको यस वर्षको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुबा गुरुङ, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा, र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी (Rice University) लगायतका प्रतिष्ठित वक्ताहरू सहभागी हुनेछन्।

कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे छलफल हुनेछ। साथै, विश्वभर रहेका नेपाली युवाहरु नवप्रवर्तन र प्रविधिमा आधारित सफलताका कथाहरू प्रस्तुत गरिनेछन्।

सम्मेलनमा अनलाइन दर्ता निःशुल्क हुनेछ र नेपाली तथा अंग्रेजीमा प्रत्यक्ष अनुवाद सुविधा उपलब्ध हुनेछ। सम्पूर्ण कार्यक्रम जुम, फेसबुक लाइभ र युट्युब लाइभमार्फत प्रसारण गरिनेछ। सहभागी सबैलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यो सम्मेलन डिजिटल नेपालको भविष्य निर्माणतर्फ एक महत्वपूर्ण कदम हुने बताए।

‘यो केवल भर्चुअल कार्यक्रम मात्र होइन, विश्वव्यापी युवाको साझा आन्दोलन हो, जसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउनेछ’, उनले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ