मङ्गलबार, २० साउन २०८२

दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने


काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनकाे आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

साेमबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंलाई बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएकाे थियाे।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर गरी पुर्पक्षको लागि प्रसाईंलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्च जान लागेकाे हाे।

प्रसाईंलाई छाड्ने उच्चकाे आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयले जनाएकाे छ।

अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश गरेको हो।

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो। अदालतले प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। प्रसाईंले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन दिएको निवेदनमाथिको सुनुवाइपछि धरौटीमा छाड्ने आदेश भएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ