बुधबार, ११ चैत २०८२

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र


जेनेभा। विश्व अहिले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्।

विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव विश्वभर फैलिएको छ।

संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन्, र यो संख्या प्रत्येक घण्टा बढ्दो क्रममा छ।

उनले मध्यपूर्वको द्वन्द्वले सीमाना नाघ्दै विश्व अर्थतन्त्रलाई समेत असर पारेको उल्लेख गर्नुभयो। तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि भई यसको असर विश्वव्यापी रूपमा देखिएको छ।

विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ। यस वर्ष विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने मानिसहरूको संख्या करोडौंले बढ्न सक्ने चेतावनी दिइएको छ।

संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई सुरक्षा परिषदका निर्णयहरू कार्यान्वयन गर्न र कूटनीतिक तथा शान्तिपूर्ण उपायमार्फत द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ।

उक्त कार्यालयले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ