बिहिबार, ०३ मंसिर २०८३

कार्की बेन्क्विट भेलाले भेटिएला एमालेकाे गन्तव्य ?


नेकपा एमाले अहिले एउटा गम्भीर राजनीतिक मनोविज्ञानबाट गुज्रिरहेको छ। पार्टीको संगठन कमजोर भएको मात्र होइन, नेतृत्वप्रति कार्यकर्तामा बढ्दै गएको असन्तुष्टि र जनतामा घट्दो आकर्षण पनि एमालेका लागि चुनौती बन्दै गएको छ। अध्यक्ष केपी शर्मा ओलीप्रति कार्यकर्ताको असन्तुष्टि अझै मत्थर हुन सकेको छैन। तर नेतृत्व भने कार्यकर्ताको मनोभावना बुझ्ने र जनताको घरदैलोसम्म पुग्नेभन्दा काठमाडौंमा बैठक, भेला र छलफल गरेर पार्टीलाई गतिशील बनाउने प्रयासमा लागेको देखिन्छ।

राजनीतिमा संगठनको शक्ति नेताहरूको उपस्थितिले होइन, जनताको विश्वासले निर्धारण गर्छ। पार्टीका ठूला सभा, केन्द्रीय बैठक र नेताहरूको बाक्लो जमघटले केही समय उत्साह देखाउन सक्ला, तर त्यसले जनताको मनमा पैदा भएको निराशा हटाउन सक्दैन। अहिले एमालेले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यही हो।

जनमत घट्दै, नेतृत्वको आत्मसमीक्षा कहिले ?

एमालेले आगामी राजनीतिक चुनौती सामना गर्ने उद्देश्यसहित मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ। देशभरका करिब तीन हजार तीन सय नेता तथा कार्यकर्ता सहभागी हुने यो भेलालाई पार्टीले संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसँग जोडेको छ। तर प्रश्न उठ्छ, एमालेको अहिलेको समस्या यति मात्रै हो ? 

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेले भोगेको पराजय सामान्य राजनीतिक धक्का थिएन। लामो समयदेखि मुलुकको निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित एमालेले अपेक्षाभन्दा कमजोर परिणाम बेहोर्नुपरेपछि पार्टीभित्र नेतृत्वको कार्यशैली र राजनीतिक निर्णयमाथि प्रश्न उठ्न थालेका छन्। निर्वाचनमा पराजयको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने र नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने आवाज पार्टीका विभिन्न तहबाट उठेको थियो। 

अझ रोचक त के छ भने एमालेको संगठनात्मक अवस्थाले पनि पार्टीभित्रको निराशा संकेत गरिरहेको छ। पछिल्लाे पटक सार्वजनिक विवरणअनुसार पार्टीका कुल ६ लाख ८६ हजार ७०० सदस्यमध्ये करिब ३ लाख ५९ हजारले मात्रै सदस्यता नवीकरण गरेका थिए। अर्थात् झन्डै ४७ प्रतिशत सदस्यले सदस्यता नवीकरण गरेनन्। यो तथ्यांकलाई सामान्य प्राविधिक समस्या भनेर मात्रै पन्छाउन मिल्दैन। यसले पार्टीको सांगठनिक आधारमै समस्या रहेको देखाउँछ। 

तर यस्तो अवस्थामा एमाले नेतृत्वको प्राथमिकता के हुनुपर्ने हो ? स्वाभाविक रूपमा पहिलो प्राथमिकता कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्नु, दोस्रो जनताको विश्वास फर्काउनु र तेस्रो संगठनलाई गाउँदेखि केन्द्रसम्म पुनर्जीवित बनाउनु हुनुपर्ने हो। त्यसका लागि नेताहरू गाउँ जानुपर्छ। कार्यकर्ताको घरदैलोमा पुग्नुपर्छ। निर्वाचनमा किन पराजय भयो, जनताले पार्टीलाई किन विश्वास गरेनन् र पुराना समर्थक किन टाढिए भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।

काठमाडौंमा भेला गरेर देशभरको मनोविज्ञान बुझ्न सकिँदैन। राजधानीमा बसेर बनाइने राजनीतिक निष्कर्ष र गाउँमा जनताले व्यक्त गर्ने असन्तुष्टिबीच ठूलो अन्तर हुन सक्छ। पार्टीका शीर्ष नेताहरूले एकअर्काको भाषण सुन्नुभन्दा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बेला हो यो।

अध्यक्ष ओलीप्रति पार्टीभित्र देखिएको असन्तुष्टिलाई पनि नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्छ। ओलीको राजनीतिक योगदान र विगतको नेतृत्व क्षमतालाई अस्वीकार गर्नुपर्ने कारण छैन। तर विगतको योगदानका आधारमा वर्तमानका सबै प्रश्नबाट नेतृत्वले उन्मुक्ति पाउन सक्दैन। पार्टीको लोकप्रियता घट्दा, निर्वाचनमा पराजय हुँदा र कार्यकर्ता निराश हुँदा नेतृत्वले आत्मसमीक्षा गर्नैपर्छ। नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई विरोधी वा अवसरवादी ठान्ने प्रवृत्तिले पार्टीलाई थप कमजोर बनाउँछ।

एमालेको अर्को समस्या नेतृत्वको वरिपरि घुम्ने राजनीतिक संस्कार पनि हो। पार्टीभित्र फरक मत राख्नेहरूलाई सहज रूपमा स्वीकार गर्ने वातावरण बन्न सकेको छैन। नेतृत्व परिवर्तनको बहसलाई निषेध गरेर मात्रै पार्टीमा एकता कायम हुन सक्दैन। एकता भनेको सबैले एउटै नेताको प्रशंसा गर्नु होइन, फरक विचार राख्नेले पनि पार्टीभित्र आफ्नो भविष्य सुरक्षित देख्नु हो।

एमालेको इतिहास हेर्दा यो पार्टी गाउँगाउँमा संगठन निर्माण गरेर, जनताका मुद्दा उठाएर र कार्यकर्ताको सक्रियताबाट बलियो बनेको हो। कुनै समय एमालेका नेताहरू गाउँमा पुग्दा जनताले उत्साहपूर्वक स्वागत गर्थे। पार्टीका कार्यक्रमहरूमा कार्यकर्ताको स्वतःस्फूर्त सहभागिता हुन्थ्यो। तर अहिले त्यही आकर्षण फर्काउन नेतृत्वले विशेष मेहनत गर्नुपर्ने अवस्था आएको छ।

अध्यक्ष ओलीले पनि कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न, किसान र सर्वसाधारणसँग संवाद गर्न निर्देशन दिएका छन्। यो सकारात्मक कुरा हो। तर निर्देशन दिने नेतृत्व स्वयं जनताको असन्तुष्टि सुन्न र आलोचना स्वीकार गर्न तयार हुनुपर्छ। 

एमालेको राष्ट्रिय भेला सफल भयो कि भएन भन्ने कुरा काठमाडौंमा कति मानिस जम्मा भए, नेताहरूले कति लामो भाषण गरे वा कति ठूला राजनीतिक निर्णय सुनाए भन्ने आधारमा मापन हुनुहुँदैन। भेलापछि कति नेता गाउँ फर्किए, कति कार्यकर्ता पार्टीमा सक्रिय भए, जनतासँगको सम्बन्ध कति सुधारियो र नेतृत्वले आफ्ना कमजोरी कति स्वीकार गर्‍यो भन्ने आधारमा यसको सफलता मापन हुनुपर्छ।

अहिले एमालेले खोजेको गति काठमाडौंका सडक र सभाहलमा होइन, गाउँका गल्ली र जनताको घरदैलोमा छ। जनताको विश्वास गुमाउँदै गएको पार्टीले फेरि विश्वास जित्न जनताकै बीचमा जानुपर्छ। 

एमालेले अहिले खोज्नुपर्ने गति होइन, गन्तव्य हो। त्यो गन्तव्यसम्म पुग्ने बाटो पनि काठमाडौंको भेला हुँदै होइन, जनताको विश्वास र कार्यकर्ताको भरोसाबाट मात्रै सम्भव छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ