शुक्रबार, २९ फागुन २०८२

टक्टक्याएर उठन कसले जोगाइदिन्छ एमालेका लागि धुलो ?


‘यो चुनाव अन्तिम होइन । संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो । एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन । एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ ।

विभिन्न चुनौतीहरूका बीच एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता महत्वपूर्ण छ । सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधिसभाको यस निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’

नेकपा एमालेले निर्वाचनमा प्रत्यक्षतर्फ नौ सिटमा विजय हासिल गरेकोमा खुसी साट्दै एमाले नेता विष्णु रिमालले लेखे । ०४६ पछि कहिले पहिलो कहिले दोस्रो शक्ति हुँदै आएको एमाले यसरी बङलङ्ग पछारिएको दोस्रो पटक हो । लज्जास्पद पराजय चाहिँ पहिलो । पार्टीले भावी प्रधानमन्त्री दाबी गर्दै झापा–५ मा उम्मेदवार बनाएका केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग ४९ हजार मतान्तरले पराजित मात्रै भएनन् । एमाले पार्टी पदाधिकारीका कुनै पनि नेताको खैरो कोट लगाएर संसद भवन छिर्ने सपना अधुरै रह्यो यसपाली ।

चुनावी परिणाम सार्वजनिक भइसक्दा नसक्दै नेतृत्व परिवर्तन हुनुपर्ने बहस पनि सुरु भएको छ । हरेक निर्वाचनमा पराजय भएपछि नेतृत्वलाई अभियोग लगाएर राजीनामा माग्नु नेपालका राजनीतिक दलका पुरानै प्रवृत्ति हो । उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्गठनको माग गर्नु वा विष्णु रिमालले धुलो टकटक्याएर फेरि उठ्छौँ भन्नुलाई त्यति ठूलो विषय बनाउन जरुरी छैन । महासचिव शंकर पोखरेल वा केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले तत्काल ओलीका विकल्प खोज्न नहुने आशय व्यक्त गर्नुलाई पनि अन्यथा मान्न मिल्दैन । किनकि एमालेमा नीतिका विषयमा बहस हुँदैन । आलोचनात्मक टिप्पणी गर्नेलाई पार्टीका शत्रुका रूपमा व्याख्या गर्नेहरूको अहिले पनि बहुमत छ । अबका केही वर्ष एमाले नेतृत्व ओलीलाई बोक्ने कि नबोक्नेमै रुमल्लिने हुन् । ‘ओलीलाई नबोकी अगाडि बढ्नै सकिन्न र ओलीलाई बोकेर हिँड्न सकिन्न’ भन्नेहरूको जुहारी सामाजिक सञ्जालमा अझै चर्किन्छ र केही व्यक्तिलाई यही प्रसङ्गले कारबाही पनि गर्छ । अहिले कास्टिङ मात्रै हो ।

यो चुनावको मत परिणामले भन्छ- ‘नेपाली जनताले एमाले पार्टी परित्याग गरे ।’ तर एमाले नेताहरू स्वीकार्न तयार छैनन् । अझै पनि विदेशी चलखेलकै कारण यो स्थिति आएको दाबी गर्न छाडेका छैनन् । यसको अर्थ हो एमाले नेतृत्वले नेपाली समाजको धरातलीय यथार्थ बुझ्ने सामर्थ्य गुमाइसक्यो । पछिल्लो एक दशकदेखि भुईँतहबाट टाढिएको एमाले नेतृत्व आफैँ सामाजिक सञ्जालमा सार्वजनिक भिडियो फुटेज हेरेर धारणा बनाउन बाध्य छ । भुईँतहका मानिससँग उठबस गर्दा धुलो लाग्न सक्ने त्रासले बिचौलिया मार्फत भुईँका आधा कुरा सुन्दै धारणा बनाउँदै आएकै कारण यस किसिमको क्षति भोग्न बाध्य भएको हो । अहिले समाज एकातिर छ भने एमाले अर्कैतिर ।

यसकारण सजिलो छैन

विगतका अन्य निर्वाचनको तुलनामा यसपालिको निर्वाचन फरक हो । फरक यस अर्थमा कि यो चुनाव जेन–जी आन्दोलनका कारण निम्तिएको थियो । कांग्रेस–एमाले जस्ता पार्टीले आशङ्का गर्दा गर्दै शान्त र सभ्य पारामा सम्पन्न भएको थियो । मतदाता प्रभावित पार्नकै लागि हुनसक्छ, यो चुनावमा सहभागी सबै दलले सुशासनको मुद्दा ठूलो जोडका साथ उठाए । चुनावअघिका घोषणापत्र वा वाचापत्र पढ्दा लाग्छ, दलहरूले विकास निर्माणभन्दा बढी जोड सुशासन कायमलाई दिएका छन् । त्यसकारण बालेनको नेतृत्वमा बन्ने सरकारका मन्त्रीहरूलाई किस्तिमा राखेको कैँचीले रिबन काट्दै हिँड्ने छुट छैन । घरघरमा ग्यास, रेल, पानीजहाज वा यस्तै प्रकारका उडन्ते कुरा गरेर मैदानमा टिक्न सकिँदैन भन्ने बुझेका छन् ।

कांग्रेस–एमालेका नेताहरूको शब्द सापटी लिने हो भने रास्वपाको जग छैन । जग नभएको पार्टी कुनै पनि बेला ढल्न सक्छ । सायद बालेन पनि यत्ति कुरामा पक्कै जानकार छन् । त्यसकारण उनले सरकारसँगै पार्टीको जगसमेत मजबुत बनाउनुपर्ने छ । त्यसका लागि एउटै अस्त्र हो— भ्रष्टहरू माथि निर्मम कारबाही ।
त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टी स्वयंले पनि चुनावअघि नै वाचापत्रमार्फत सुशासन कायम गर्ने प्रतिबद्धता जनाइसकेकाले अन्य कुनै पनि बहानामा आलटाल गर्ने छुट छैन ।

सुशासन कायम केवल कसैले भनेकै भरमा सम्भव हुँदैन । रवि लामिछाने वा बालेन शाहले अब सुशासन कायम गर्छु भनेर हुने होइन । भन्दैमा हुने भए त केपी ओलीले पनि शेरबहादुर देउवाको बुई चढेर सरकार बनाउँदा ‘सुशासन कायम गर्छु’ भनेका थिए । तर गरेनन् । प्रतिफल हो यसपालिको नौ सिट ।
अर्को चुनावमा ओलीजस्तै नौ सिटमा सीमित हुन नपरोस् भन्नका लागि पनि रास्वपालाई सुशासनका लागि काम गर्नुपर्ने बाध्यता छ । यसका लागि एउटा विधि बनाउनै पर्छ । विधि भन्नुको अर्थ कुनै पनि विषयमा कारबाही प्रक्रिया सुरु गर्नु अघि तथ्य पत्ता लगाउनुपर्ने हुन्छ । त्यसका लागि भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग हुन सक्छ ।

यदि आयोग बनाएर भ्रष्टाचारका विषयमा छानबिन सुरु गर्ने हो भने सूचीमा त्यस्ता परिचित धेरै व्यक्तिको नाम समेटिनेछ । जसको सम्बन्ध कांग्रेस वा एमालेसँग निकट रहेको थाहा पाउन धेरै मेहनत गरिरहन जरुरी छैन ।

एकछिनलाई ठूला काण्डहरूको कुरा नगरौँ । सहकारीको पैसा खाएर लुक्दै हिँड्दै गरेका, निजी स्कुल–कलेज चलाएर सरकारी जमिन हडपेर बसेका, साना–तिना ठेक्का हात पारेका तर काम पूरा नगरी बसेका, कन्सल्टेन्सीमार्फत विभिन्न व्यक्तिलाई विदेश पठाउँछु भन्दै रकम लिएर सम्पर्कविहीन भएकाहरू बग्रेल्ती भेटिन्छन् । यस्ता धन्दा गर्नेहरू टाठाबाठा मानिन्छन् । ती व्यक्तिको राजनीतिक हैसियत अब हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा वडाअध्यक्षदेखि मुख्यमन्त्रीसम्मको हुन सक्छ । राजनीतिको आडमा ठगीलाई ‘साइड जब’ गर्नेहरू कारबाहीको दायरामा आए भने पुराना पार्टीहरूलाई गतिला उम्मेदवारकै अभाव हुन सक्छ ।

काम गर्नेपर्ने बाध्यता

प्रतिनिधिसभा निर्वाचनमा १८३ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति प्रदेश र स्थानीय तहमा शून्य छ । आगामी डेढ वर्षपछि स्थानीय र प्रदेशको चुनाव हुने भएकाले चुनावमा उपस्थिति जनाउनका लागि पनि काम गर्नुपर्ने बाध्यता छ रास्वपालाई । सबैलाई थाहा छ- अबको चुनावमा ‘हामी यस्तो गर्दैछौँ’ भन्नेहरूले होइन ‘हामीले यति गर्‍यौँ’ भन्नेहरूले मात्रै भोट पाउँछन् । यति गर्‍यौँ भन्नका लागि सबैभन्दा सजिलो काम भनेकै भ्रष्टहरूको सूची सार्वजनिक गर्दै तिनलाई कारबाहीको दायरामा ल्याउनु हो ।

कसले गरिदिन्छ धुलोको जोहो ?

चुनावी परिणाम सार्वजनिक भएपछि एमाले र कांग्रेसका शीर्ष नेतृत्वका अभिव्यक्ति सुन्दा लाग्छ, उनीहरू यसपालिको चुनावमा सुनामी आएको भन्दै आगामी निर्वाचनमा यो सुनामी एमाले र कांग्रेसको पक्षमा आउनेमा आशावादी छन् । ‘धुलो टकटक्याएर फेरि उठ्छौँ ।’ भन्नुको अर्थ पनि त्यही नै हो । तर शीर्ष नेतृत्वको व्यवहार, बोली, वचन र शैली हेर्दा टकटक्याउनका लागि धुलो पनि अहिल्यै जोहो गरिहाल्नुपर्ने हो कि जस्तो देखिन्छ ।

हिजोका मिनबहादुर गुरुङ थिए । एमाले पार्टीका लागि मार्बल बिछ्याएको पार्टी कार्यालय निर्माणका लागि होमहोमाधी सुरु गर्दै थिए । अहिले उनी आफैँ धुलो टकटक्याएर उठ्ने क्रममा रहेकाले फेरि त्यही गल्ती नदोहोर्याउन पनि सक्छन् । आफ्ना मुद्दाबाट विस्थापित हुने क्रममा रहेको अनेरास्ववियु, युवासंघ, ट्रेड युनियन वा अन्य कुनै भातृ संस्थाको आश गरेको भए ती पनि अब केही वर्षमा थिलथिलो भइसकेका हुनेछन् । बरु शीर्ष नेतृत्वले अहिल्यै मिनबहादुर गुरुङसँग समन्वय गर्‍यो भने केही बाेरा धुलोको जोहो हुन सक्छ । पुनर्निर्माण गरिएको च्यासलको कुनै कुनामा उपहारस्वरूप पाएको धुलो सुरक्षित राख्ने हो भने पछि टकटक्याएर उठ्न काम लाग्छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ