मङ्गलबार, ०६ साउन २०८२

जहाँ सरकार त्यहाँ भष्ट्राचार, अब चित्रगुप्तलाई कहाँ गएर बयान दिने?: प्रचण्ड


काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाईको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।’

प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यंग्यात्मक लहजामा भने, ‘तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डील गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो?’

उहाँले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र विचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए। ‘जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति’ भन्दै उहाँले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे।

पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिनँ’ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे।

उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ– सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन। सरकार अँध्यारो कोठामा विचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो। आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्।’

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे।

‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ,’ अध्यक्ष प्रचण्डले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ