सोमबार, २५ चैत २०८१

राजालाई अब चाँडै राजगद्दीमा राख्छाैं : डा. धवल शम्शेर राणा


सुर्खेत । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ दाबी गर्दै राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरेका छन् ।

‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,’ राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै भने ।

चैतमा हुने काठमाडौं केन्द्रीत आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे । ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ ? चैट गर्छौं,’ उनले भने ।  ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं ।’

गणतन्त्रवादी पार्टीहरुको मुटु थर्किएपछि यिनीहरु हिजोबाट एक ठाउँ आउने योजनामा छन्, भन्दै राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नुपर्दछ ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, सँस्कृति पनि पूनःस्थापना गर्ने राणाले बताए । १४ अरब रुपैयाँ खाएर हाम्रो धर्म, रितिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टी भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले उपस्थित जनसमुदायलाई काठमाडौं केन्द्रीत आन्दोलनमा भाग लिन चैत्रमा राजधानी आउन आमन्त्रण गरे ।

कार्यक्रम बीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपर्व मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो । र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ