आइतबार, २२ असार २०८२

लागूऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्छाैँ: गृहमन्त्री लेखक


फाइल तस्बिर

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै लागूऔषध नियन्त्रण विभाग गठन गर्ने घोषणा गरेका छन्।

बिहीबार काठमाडाैँमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

‘हामीलागूऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ’, गृहमन्त्री लेखकले भने, ‘गृह मन्त्रालयले लागूऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरु अघि बढाएको छ।’

लागूऔषधसेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको बताए।

‘मुख्य विषय भनेको यसको रोकथामन हो। जनचेतना महत्वपूर्ण विषय हो। लागूऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ’, लेखकले भने, ‘लागूऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ।’

लागूऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।

‘एक लाख ३४ हजार जना लागूऔषध सेवनकर्ता रहेको तथ्याङ्क छ। समाज नराम्रोसित प्रभावित हुँदैछ’, उनले भने, ‘मुलुकभरका कारगाराका कैदीबन्दीहरुमध्ये दोस्रो ठुलो संख्यामा लागूऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।’

दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाला निकाय, सरकारीतथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ