शनिबार, २१ चैत २०८२

हामी आफैँ एक इन्च पनि नराम्रो गर्दैनौँ, नराम्रो गर्नेलाई छोड्दैनौँ: सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी निकाय तथा सार्वजनिक संस्थाको संस्थागत क्षमता विकासमार्फत नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको ७६औँ वार्षिकोत्सवका अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले संस्थालाई बलियो, जवाफदेही र परिणाममुखी बनाउने दिशामा मन्त्रालय नयाँ ऊर्जा र गतिका साथ अघि बढिसकेको स्पष्ट गरे।

उनले भने, ‘सरकारका निकायहरू बलिया भए मात्र नागरिकले सहज र गुणस्तरीय सेवा पाउँछन्। त्यसैले के गर्दा संस्था बलियो हुन्छ भन्ने विषयमा मन्त्रालयले नयाँ ढङ्गले काम अघि बढाएको छ। बलियो, जवाफदेही र प्रभावकारी संस्था निर्माणको विकल्प छैन।’

सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिनिधिसभा निर्वाचनपछि युवाको काँधमा देश सञ्चालनको जिम्मेवारी आएको उल्लेख गर्दै राजनीतिक र प्रशासनिक संरचनामा देखिएका नकारात्मक प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक रहेको बताए।

‘राजनीतिक रूपमा हाम्रा संस्थामा नकारात्मकता हावी भएको छ। देशले खोजिरहेको दिशा पहिचान गरेर हामीले त्यसअनुसार परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘राजनीतिक मूल सुध्रियो, अब हरेक संस्था सुध्रिने र हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्ने बेला आएको छ।’

जवाफदेहिता र अनुशासनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, ‘हामी आफैँ एक इन्च पनि नराम्रो गर्दैनौँ र नराम्रो गर्नेलाई छोड्दैनौँ। जहाँ कमजोरी छ, त्यहाँ कारबाही गर्छौं। सेटिङ गर्नेहरूलाई कानुनी दायरामा ल्याउन मन्त्रालय र सरकारले काम गरिरहेको छ।’

सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले अनावश्यक खर्च नियन्त्रण, प्रभावकारी सूचना सम्प्रेषण र सुशासनबीचको सम्बन्धलाई स्पष्ट पारे। साथै, आगामी पाँच वर्षभित्र युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यमा नागरिकको समान जिम्मेवारी रहने उनले उल्लेख गरे।

सञ्चारमन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा सूचना नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाहरूले त्यसको रक्षा गर्नुपर्नेमा जोड दिए।

बदलिँदो सञ्चार प्रविधि, बजार प्रतिस्पर्धा र दर्शक–श्रोताको बदलिँदो चाहनालाई ध्यानमा राख्दै सार्वजनिक सेवा प्रसारणलाई अझ प्रभावकारी, विश्वसनीय र जनमुखी बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।

सञ्चारमन्त्री डा तिमिल्सिनाले आफ्नो विद्यार्थी जीवन सम्झँदै रेडियो नेपालले आफूलाई साहित्य लेखनतर्फ प्रेरित गरेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाले समाज निर्माणमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ