मङ्गलबार, २६ चैत २०८१

ऊर्जामन्त्री दीपक खड्कासँग बेलायत र जापानका राजदूतहरूको शिष्टाचार भेट


काठमाडौं। नेपालका लागि बेलायतका राजदूत रोब फेन र जापानका राजदूत मायदा तोरुले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

दुई भिन्न अवसरमा भएको यी भेटवार्ताहरूमा ऊर्जा तथा सिँचाइ क्षेत्रको विकासका लागि नेपाल-बेलायत र नेपाल-जापान सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।

बेलायती राजदूतसँगको भेटवार्ता

बेलायतका राजदूत फेनसँगको भेट नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा सम्पन्न भएको थियो। बैठकमा नेपाल-बेलायत ऐतिहासिक सम्बन्धलाई ऊर्जा क्षेत्रमा अझ सुदृढ बनाउने विषयमा छलफल भयो।

मन्त्री खड्काले बेलायत सरकार तथा यूकेएडद्वारा नेपालमा प्रवर्द्धन गरिँदै आएको नवीकरणीय ऊर्जा सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा योजना, र भूकम्पपछिको पुनर्निर्माण लगायतका पहलहरूको प्रशंसा गर्दै निरन्तर सहकार्यको आवश्यकता औंल्याए ।


मन्त्री खड्काले हालै पारित ऊर्जा विकास मार्गचित्र, २०८१ अनुरूप नेपालले लिएको ऊर्जा उत्पादन लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय साझेदारी महत्वपूर्ण रहेको बताए।

उनले केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई थप दुई वर्ष निरन्तरता दिन बेलायती पक्षलाई आग्रह गरे । साथै, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा ऊर्जा संक्रमण प्रक्रियामा बेलायतको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने आशा व्यक्त गरे ।

जापानी राजदूतसँगको भेटवार्ता

नेपालका लागि जापानी राजदूत मायदा तोरुसँगको भेटवार्ता ऊर्जा मन्त्रालयमा सम्पन्न भएको थियो। मन्त्री खड्काले नवनियुक्त राजदूत तोरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जापान सरकारद्वारा नेपालमा कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, र ग्रामीण विद्युतीकरणमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी, चन्द्रनगर सिँचाइ प्रणाली, कोशी, नारायणी, बागमती नदीहरूमा बाढी नियन्त्रणका लागि जापानले गरेको सहयोगप्रति पनि मन्त्री खड्काले आभार व्यक्त गरे । उनले जापान सरकारलाई जलविद्युत्, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी बढाउन आग्रह गरे ।

भेटमा जापानी राजदूत तोरुले माथिल्लो अरुण जलविद्युत् आयोजनाको विश्व बैंक वित्तीय व्यवस्थापन निर्माणमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको जलविद्युत् प्राथमिकताका आधारमा जापानले आवश्यक सहयोग जारी राख्ने बताए ।

यी दुई उच्चस्तरीय भेटवार्ताले नेपालमा नवीकरणीय ऊर्जा प्रवर्द्धन, जलविद्युत्, तथा आधुनिक ऊर्जा प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी थप विस्तार हुँदै गएको संकेत गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ