- असार ०७, २०८०
काठमाडाैँ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार आएको बाढीमा परेर १८ जना नेपाली बेपत्ता भएका छन्।
बाढीमा परेर जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना बेपत्ता भएको हुन्।
कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएकाे अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।
भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको भन्दै उनले बेपत्ताको खोजी गरिदिन परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छन्।
यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएको जनप्रतिनिधिहरुले बताएका छन्।
त्यसैगरी धादिङको ज्वालामुखी गाउँपालिका-२ का चार जना नेपाली पनि उत्तराखण्डकाे बाढीमा परेको आशङ्का गरिएको छ।
ज्वालामुखी-२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ बाढीपछि सम्पर्कमा नआएको परिवारमार्फत जानकारी आएकाे गाउँपालिका अध्यक्ष यामनाथ दनैले जानकारी दिए।
उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ।
टिप्पणीहरू: