सोमबार, ०८ पुस २०८१

उर्जामन्त्रीले राखेको बक्यौता नतिर्नेको लाइन नकाट्ने प्रस्ताव कुलमानले मानेनन्


काठमाडौं, ८ कार्तिक । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक निर्णयविहीन भएको छ ।

बैठकमा ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले बक्यौता नतिरेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लिखित निर्देशनबिना त्यस्तो निर्णय गर्न नसकिने बताएका थिए । लिखित निर्देशन दिन कोही पनि तयार नभएपछि बैठक निष्कर्षविहीन भएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिँदै छ । गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो ।

अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन् । बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ । विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

बक्यौता उठाउने विषयले प्रधानमन्त्री केपी शर्मा ओली र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविच सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री ओली पैसा नतिर्ने व्यवसायीको लाइन जोडिदिनु पर्ने पक्षमा छन् भने घिसिङले असहमति जनाउदै आएका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ