- असार ०६, २०८०
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेकाे बताएका छन्।
शुक्रबार काठमाडौँकाे राष्ट्रियसभा गृहमा आयोजित एकता राष्ट्रिय अभियानसँग एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन्।
साथै उनले कोही पनि नेताकार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि आफ्नाे भन्नु केही नभएकाे बताए।
‘एमालेसँग एकताको कुनै सम्भावना छैन। अहिलेको विन्दुमा उभिएर भन्दाखेरि एमालेसँग एकताको कुनै सम्भावना छैन। त्यहाँभित्रको हामी अवस्था देखिराखेका छौँ। त्यसप्रति लसपस कसैको छ भने आशा, अपेक्षा ज्यादा छ भने मेरो भन्नु केही पनि छैन’, अध्यक्ष नेपालले भने।
उनले एमालेकै नेताहरूबाटै आफ्नो पार्टी सिध्याउने र प्रहार गर्ने गरी अभिव्यक्तिले आइरहेको बताए।
उनले भने, ‘यो पार्टीसँग उसको सम्बन्धको कुरा गर्नुहुन्छ भने उसका नेताहरूको अभिव्यक्तिले नै प्रष्ट पारिसकेको छ। यो पार्टीलाई कसरी सिध्याउने, कसरी समाप्त पार्ने? अनि त्यसकाे निम्ति कुन-कुन तरिका अवलम्बन गर्ने? कहाँ प्रहार केन्द्रित गर्ने भन्ने उनीहरूले भनिरहेको कुरा हामीले बुझिरहेका छौंँ।’
टिप्पणीहरू: