शुक्रबार, १९ मंसिर २०८२

ओलीकै नेतृत्वमा फेरि पनि एमाले अघि बढ्छ : विष्णु पाैडेल


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्ने बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टी अघि बढ्ने बताए । 'एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नु पर्छ’, उनले भने ।

एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको बताउँदै उनले तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे । एमालेले लिने नीति देशको नीति बन्ने उनको भनाइ छ । 

महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पारे । ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु,त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने । 

पौडेलले आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको पनि बताउनुभयो । ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन’, उनले भने, ‘म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’ । 

नेकपा एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेले तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने स्पष्ट पारे । ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुरेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्‍याउने अभियानमा छौँ’, पौडेलले भने ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ