सोमबार, १६ चैत २०८२

एमाले प्रदेस सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ


काठमाडौँ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो ।

शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।

उद्धारपछि शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप लगाइएको थियो । तत्कालिन काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाएका थिए ।

तत्कालीन अवस्थामा जाहेरी दर्ता भएको दुई महिना बित्दा पनि पक्राउ नगरिएको भन्दै त्यसबेला बालेन शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।

तर २०८१ माघमा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको थियो । त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत माफी माग्दै ‘समय आउने’ उल्लेख गरेका थिए । यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । महानगरपालिकाले उद्धार गरेपछि बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । २०८१ असार २५ गते न्यायाधीश कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ