शनिबार, ०६ मंसिर २०८२

आफ्नै घरमा बस्छन् तर, घरभाडा शीर्षकमा मासिक भत्ता बुझ्छन् एमालेका मन्त्री


काठमाडाैं ।  कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आफ्नै घरमा बसेर पनि घरभाडा वापतकाे रकम बुझ्ने गरेका छन् । भण्डारीकाे इटहरी उपमहानगरपालिकामा आफ्नै घर छ । उनी घरबाटै आउजाउ गर्छन् । 

उनले अहिलेसम्म राज्यबाट आवास सुविधा भन्दै मासिक २९ हजार रुपैयाँ बुझिरहेका छन् । २०८१ मंसिर १७ गते मन्त्री बनेका भण्डारीले विगत १० महिनाको अवधिमा घरभाडा बापत मात्रै २ लाख ९० हजार रुपैयाँ बुझिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेशका मन्त्रीले मासिक पारिश्रमिक ६१ हजार ३६०, सञ्चार सुविधा मासिक २ हजार ५००, धारा विजुली मासिक २ हजार ५०० रुपैयाँ पाउने व्यवस्था छ । मन्त्री भण्डारीले सबै गरेर मासिक ९५ हजार ३६० रुपैयाँ बुझिरहेका छन् ।

मन्त्रीहरुलाई आवास उपलब्ध गराउने र आवास उपलब्ध नभएमा मासिक २९ हजार घरभाडा उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर, मन्त्री भण्डारीले आफ्नै घरमा बसेर घरभाडाको रकम बुझिरहेको पाइएको छ । मुख्यमन्त्री  हिक्मत कार्कीका निकट मानिने भण्डारी अध्यक्ष ओलीका पनि प्रिय पात्र हुन् ।

आफ्नै घरमा बसेर सरकारबाट घरभाडा बुझ्ने मन्त्री भण्डारीले कानुनमा तोकिएको सुविधा लिएको दावी गरे । ‘मलाई त मन्त्री भएपछि घाटा छ । 
घरमा तीन वटा कोठा मात्रै थिए, मन्त्री भएपछि पिएसओ राख्नका लागि माथिल्लो तलामा एउटा कोठा थप्दा ६ लाख भार थपिएको छ’ उनले भने ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ