- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेले बैशाख लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।
जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ । युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्वबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खटिएका पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
आइतबार नेकपा एमालेबाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई महासचिव पोखरेल, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।
आजै सोही विषयमा केन्द्रित रहेर जनसंगठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसंगठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको ढुङ्गेलले जानकारी दिए । भेलालाई महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।
यसै बिच कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीको उपत्यका कोर सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि गरिएको छ । बैठकलाई पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका छन् ।
११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको मुख्य टिम बनेको छ ।
त्यसै गरी पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेल संयोजक रहेको सहजीकरण टिम बनाइएको छ । कार्यक्रममा देशभरिका पार्टी र जनसंगठन आवद्ध युवाहरूले सहभागिता जनाउने ढुङ्गेलले बताए । बैशाख ११ गते भृकुटी मण्डपमा नेपालका युवाहरूको वास्तविक अनुहार देखिने उनले दाबी गरे ।
कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । युवा केन्द्रित कन्सर्टका साथै अन्य विशेष कार्यक्रम पनि आयोजना हुने ढुङ्गेलले बताए । ‘अहिलेसम्म भएका भन्दा फरक कार्यक्रम हुने छ’, उनले भने ।
टिप्पणीहरू: