सोमबार, ०५ साउन २०८२

एमालेको केन्द्रीय कमिटी बैठक भाेलि बिहान ११ बजे


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।  

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ ।

सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेस भई छलफल हुने नेता गौतमले जानकारी दिए। विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ । 

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ ।  एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक भोलि र पर्सि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ