आइतबार, ०६ मंसिर २०८३

बंगलादेश हिंसामा सत्तारुढ दलका दुई नेता मारिए


बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगमाथि बंगलादेशलाई अस्थिर बनाउने षड्यन्त्र रचेको आरोप लगाएका छन्।

भारतसँग सीमा जोडिएको उत्तर-पश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित एक सार्वजनिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरूले अशान्ति मच्चाउन आगजनी र हत्याको सहारा लिएको आरोप लगाए।हसिनाको दलले देशभर एक दिने बन्दको आह्वान गरेपछि केही क्षेत्रमा हिंसा भड्किएकाे छ।

बंगलादेशी समाचारपत्रहरूका अनुसार, बिहीबार प्रतिबन्धित अवामी लिग र यसका भ्रातृ संगठनका नेताहरू तथा बीएनपीका कार्यकर्ताहरूबीच भएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएकाे छ। स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरू अनुसार, बंगलादेशका पूर्व अन्तरिम सरकार प्रमुख सल्लाहकार मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी गरिएको छ।

बीबीसी बांग्लाका अनुसार, बुधबार नराइरमा भएको एउटा आक्रमणमा बीएनपीका दुई नेताको मृत्यु भएको छ। उनीहरू एक विरोध प्रदर्शनबाट फर्किँदै गर्दा उक्त आक्रमण भएको थियो। प्रहरीका अनुसार, आक्रमणकारीहरू प्रतिबन्धित अवामी लिगका नेता तथा कार्यकर्ताहरू थिए।'न्यू एज' पत्रिकाका अनुसार, बिहीबारसम्ममा देशभरका १८ जिल्लामा हिंसा फैलिसकेको थियो। मंगलबार रातिदेखि मुलुकका विभिन्न भागमा आगजनी, तोडफोड र पेट्रोल बम प्रहारका घटनाहरू भएका छन् ।

जसमा बसहरू, प्रहरी चौकीहरू, बीएनपी कार्यकर्ताका घरहरू, पार्टी कार्यालयहरू र ग्रामीण बैंकका शाखाहरूलाई लक्षित गरी आक्रमण गरिएको छ।बुधबार गोपालगन्जमा व्यापक हिंसा भड्कियाे । राजमार्गहरूमा सवारी साधनहरूमा आगो लगाइयो र रूखहरू ढालेर यातायात अवरुद्ध पार्ने प्रयास गरियो।शेख हसिना भारत फर्कन सक्ने सम्भावनालाई लिएर बढ्दो तनावका बीच यी विरोध प्रदर्शन र हिंसात्मक घटनाहरू भएका छन्।

पूर्व शिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित अवामी लिगका धेरै नेताहरूलाई तोडफोडमा संलग्न भएको र अशान्ति फैलाउन उक्साएको आरोपमा पक्राउ गरिएको छ।

बंगलादेशको सरकारी समाचार संस्था बीएसएसका अनुसार, तारिक रहमानले भने, "देशका जनता जबर्जस्ती बेपत्ता पार्ने कार्य, हत्या, आगजनी, आतंकवाद र मताधिकारबाट वञ्चित गरिने राजनीतिमा फर्कन चाहँदैनन्।" हामी एकजुट होऔं र आतंकवादीहरूलाई यस्तो उपयुक्त जवाफ दिऔं, जसले गर्दा उनीहरूले फेरि कहिल्यै बंगलादेश र त्यहाँका जनताको भाग्यसँग खेल्न नपाऊन्।यो टिप्पणी यस्तो समयमा आएको हो जब बंगलादेशका सात जिल्लाहरूमा आगजनी, बम विस्फोट र तोडफोडका घटनाहरूपछि करिब ३,००० अर्धसैनिक सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो।

यी घटनाहरूका कारण देशका विभिन्न भागमा यातायात सेवा अवरुद्ध हुन पुग्यो।

प्रधानमन्त्री रहमानकाे भनाई अनुसार अवामी लिग सरकारले देश र जनताको हितलाई बेवास्ता मात्र गरेन, बरु सीमापारि बसेका आफ्ना "मालिकहरू" को स्वार्थ पूरा गर्ने काम पनि गर्यो। सत्ताबाट हटाइएपछि, उक्त दलका नेताहरू त्यही ठाउँमा भागेर गए। यद्यपि, उनले कुनै निश्चित देशको नाम भने लिएनन्।भारतको नाम नलिई रहमानले भने, "देशबाट भागेपछि पनि, उनीहरूले फेरि एकपटक आगजनी र हत्याको राजनीति सुरु गरेका छन्। उनीहरू पर्दा पछाडि बसेर मानिसहरूमाथि आक्रमण र हत्या गरिरहेका छन्।"

उनले थपे, "अब धेरै भइसक्यो। हामीले यी आतंककारी, आगजनी गर्नेहरू र हत्याराहरूलाई स्पष्ट जवाफ दिनैपर्छ।" ७९ वर्षीया शेख हसिना ५ अगस्ट २०२४ मा बंगलादेशबाट भागेपछि भारतमा बस्दै आएकी छिन् । विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि उनको सरकार ढलेको थियो।

अवामी लिगले बिहीबार बिहानदेखि बेलुकासम्म बन्दको आह्वान गरेको थियो। सरकारले राहदानी जारी गर्नुपर्ने हसिनाको अनुरोध अस्वीकार गरेपछि यो निर्णय लिइएको हो । उनले डिसेम्बरमा बंगलादेश फर्कने योजनाका लागि राहदानी माग गरेकी थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ