सोमबार, ०१ भदौ २०८३

ट्रम्पले भने-किम मेरा साथी, दक्षिण काेरियाका लागि सैन्य अभ्यास भारी हुन सक्छ


वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएका छन् । दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै सोमबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि ‘पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश’ भएको बताएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरिया ‘अहानिकारक र सम्मानजनक’ रहेको दाबी गरे ।

“अभ्यास रद्द गर्न अब धेरै ढिलो भइसकेको तथ्यलाई मध्यनजर गर्दै मैले रक्षामन्त्री पिट हेगसेथलाई संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिएको छु”, ट्रम्पले लेखेका छन् ।

ट्रम्पका अनुसार उनले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको ‘आणविक निशस्त्रीकरण’ प्रयासमा अमेरिकालाई सहयोग गर्नेबारे सोधेका थिए । तर, दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उनले बताएका छन् ।

यो निर्णय दक्षिण कोरियासँगको अमेरिकी सुरक्षा गठबन्धनप्रति ट्रम्प प्रशासनको दृष्टिकोणमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा देखिएको छ । यसअघि मे महिनामा पेन्टागनमा भएको बैठकमा रक्षामन्त्री हेगसेथले दक्षिण कोरियाको रक्षा खर्च बढाउने प्रतिबद्धता र कोरियाली प्रायद्वीपको सुरक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारीको प्रशंसा गरेका थिए । 

१८ हजार दक्षिण कोरियाली सैनिक सहभागी 

दक्षिण कोरियाली र अमेरिकी सेनाबीचको ११ दिने ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध संयुक्त प्रतिरक्षा क्षमता सुदृढ गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको हो ।

अमेरिकी सेनाका अनुसार अभ्यासले क्षेत्रीय शान्ति तथा सुरक्षाका लागि अमेरिका–दक्षिण कोरिया गठबन्धनको भूमिका सुदृढ गर्नुका साथै दक्षिण कोरियाको रक्षा प्रतिबद्धतालाई पुनः पुष्टि गर्छ । अभ्यासमा वास्तविक गोलीबारी, सैन्य युक्ति तथा नदी पार गर्ने अभ्यासलगायतका गतिविधि समावेश छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अभ्यास योजनाअनुसार सोमबारदेखि सुरु भएको पुष्टि गरेको छ । यो संयुक्त अभ्यास उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धको अवज्ञा गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण पुनः सुरु गरेको केही दिनपछि भएको हो ।

अमेरिकी डेमोक्र्याटिक सिनेटर तथा पूर्व नौसेना पाइलट मार्क केलीले ट्रम्पको निर्णयको आलोचना गर्दै संयुक्त सैन्य अभ्यास कमजोर पार्नु “अदूरदर्शी र गल्तीपूर्ण कदम” भएको बताएका छन् ।

उत्तर कोरियाको चेतावनी 

उत्तर कोरियाले शुक्रबार अमेरिका र दक्षिण कोरियाविरुद्ध अस्पष्ट तर कडा कदम चाल्ने चेतावनी दिएको थियो । उसले संयुक्त सैन्य अभ्यासलाई ‘आक्रामक युद्धको पूर्वाभ्यास’ भन्दै यसले क्षेत्रीय अस्थिरता बढाउने आरोप लगाएको थियो ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले प्रायः अमेरिका र दक्षिण कोरियाका संयुक्त सैन्य अभ्यासलाई आफ्ना आणविक तथा क्षेप्यास्त्र कार्यक्रम अघि बढाउने बहानाका रूपमा प्रयोग गर्दै आएको छ ।

सन् २०१९ मा ट्रम्प र किमबीचको आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए र दोस्रो कार्यकालमा पनि उनीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्दै आएका छन् ।

ट्रम्पको पछिल्लो घोषणा उनले किमसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक दिनपछि आएको हो । उनले दुई नेताबीच राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई ‘उत्तेजक’ भन्दै रोक्ने घोषणा गरेका थिए ।  सन् २०१८ मा सिङ्गापुरमा किमसँगको भेटपछि ट्रम्पले त्यस्ता अभ्यास बन्द गर्दा ठूलो रकम बचत हुने बताएका थिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ