आइतबार, १७ साउन २०८३

शासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको धारणा राखेकी छिन् ।

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेकाे उल्लेख गर्दै उनको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइन् । 

उनले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उनलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र नभई उनका आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो । साथै हाजिरीजवाफ प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि सङ्घर्षको कठिन बाटो रोज्नुभएको उल्लेख गरे । उनीहरू जस्तै अग्रजको त्याग र समर्पणबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उनको भनाइ छ ।

अमात्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको रक्षाका लागि आफूहरू कटिबद्ध भएर लाग्ने सहसंयोजक नेपालले उल्लेख गरे।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ