- असार ०६, २०८०
एजेन्सी । जम्मू कश्मीरको पहलगाममा आतंककारी आक्रमण भएकाे ९९ दिनपछि आक्रमणमा संलग्न तीन जना मारिएका छन् ।
भारतीय गृहमन्त्री अमित शाहले मंगलबार संसदलाई अपरेसन सिन्दुरबारे जानकारी दिने क्रममा त्यसको खुलासा गरेको एनडीटिभीले लेखेको छ।
अपरेसन महादेव नाम दिइएको कारबाहीमा सोमबार भारतीय सुरक्षाकर्मीले ती तीन जनालाई कश्मीरको दचीगाममा मारेको शाहले बताएका छन् । पहलगाम आक्रमणको मुख्य योजनाकार सुलेमान सहित जिब्रान र अफगान भाइलाई मारेको उनले जानकारी दिए ।
उनीहरूकाे साथबाट पाकिस्तानी मतदाता परिचय पत्र र पाकिस्तानमा बनेको चकलेट बरामद भएकाले उनीहरू पाकिस्तानी नागरिक भएको पुष्टि भएको उनले दाबी गरेका छन्।
पाकिस्तानले भने पहलगाम आक्रमणमा पाकिस्तानी नागरिकको संलग्नता नरहेको दाबी गर्दै आऐको छ।
मारिएका तीन जनाबाट बरामद हतियार र पहलगाम आक्रमणमा प्रयोग भएका गोलीको विश्लेषण गर्दा मेल खाएकाले उनीहरू सो आक्रमणमा संलग्न भएको भारतकाे दाबी छ ।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा नेपालको बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। त्यसको दुई हप्ता पछि मे ७ मा पाकिस्तानभित्र आक्रमण गरेर भारतले जबाफ दिएको थियो।
भारतले अपरेसन सिन्दुर नाम दिएको सो कारवाही पछि भारत र पाकिस्तानबीच चार दिन युद्ध भएको थियो।
टिप्पणीहरू: