- असार ०६, २०८०
काठमाडौं । पर्यटकको रेस्क्यू गरेकाे नक्कली कागजात बनाएर ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन गरी फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सुभास केसी रहेका छन् ।
सीआईबीका प्रमुख एआईजी मनोज केसीअनुसार तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू गर्ने गरेको अनुसन्धानबाट खुलेको हो ।
माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको केसीले बताए । उनका अनुसार उक्त कम्पनीले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।
नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको र उनीहरूले ८२ लाख डलर माग दाबी गरेको सीआईबीले जनाएको छ ।
एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको फेक रेस्क्यु गरेको र उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको उनको भनाइ छ ।
सीआईबीले २ हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको थियो । केहीकाे अनुसन्धान जारी रहेकाे जनाएकाे छ ।
टिप्पणीहरू: