- भदौ ०१, २०८१
बैंकक । थाइल्यान्डमा फेला परेका जीवाश्म अवशेषहरूको अध्ययनपछि वैज्ञानिकहरूले दक्षिणपूर्वी एसियामा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा ठूलो डायनासोरको अस्तित्व सार्वजनिक गरेका छन् । करिब २७ मिटर लामो र झन्डै २७ टन तौल भएको यो विशाल शाकाहारी डायनासोर आजभन्दा १० करोडदेखि १२ करोड वर्षअघि हालको थाइल्यान्ड क्षेत्रमा विचरण गर्ने गरेको अनुमान गरिएको छ ।
वैज्ञानिक जर्नल साइन्टिफिक रिपोट्र्स मा बिहीबार प्रकाशित अध्ययनअनुसार लामो घाँटी भएको यो सरोपोड प्रजातिको तौल नौ वटा वयस्क एसियाली हात्ती बराबर रहेको अनुमान गरिएको छ । शोधकर्ताहरूका अनुसार यो दक्षिणपूर्वी एसियामा हालसम्म फेला परेको सबैभन्दा ठूलो डायनासोर हो ।
अध्ययनको नेतृत्व गरेका थितिवाट सेथापानिचसाकुलले लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शित प्रसिद्ध ‘डिप्पी द डिप्लोडोकस’ सँग तुलना गर्दै यो नयाँ प्रजाति अझै विशाल भएको बताए । उनका अनुसार नयाँ डायनासोरको तौल ‘डिप्पी’ भन्दा कम्तीमा १० टन बढी हुनसक्छ, जसले यसलाई विश्वकै अत्यन्तै विशाल सरोपोडहरूमध्ये एक बनाएको छ ।
युनिभर्सिटी कलेज लन्डन (युसिएल) का अनुसार थाइल्यान्डका एक पिएचडी विद्यार्थीले यो डायनासोरलाई ‘अन्तिम टाइटन’ को संज्ञा दिएका छन् । यसको कारण, यो जीवाश्म थाइल्यान्डमा डायनासोर पाइने सबैभन्दा पछिल्लो अर्थात् सबैभन्दा कान्छो चट्टानी तहमा फेला परेको हो । वैज्ञानिकहरूका अनुसार पछि त्यो क्षेत्र समुद्रको कम गहिराइ भएको भागमा बदलिएको थियो । त्यसैले यो दक्षिणपूर्वी एसियामा पाइने अन्तिमतिरका विशाल सरोपोड डायनासोरमध्ये एक हुनसक्ने अनुमान गरिएको छ ।
यो विशाल जीवको पहिलो अवशेष करिब एक दशकअघि उत्तरपूर्वी थाइल्यान्डका स्थानीय बासिन्दाले फेला पारेका थिए । तर उत्खनन कार्य जटिल भएकाले त्यसलाई पूर्ण रूपमा सम्पन्न गर्न सन् २०२४ सम्म समय लागेको अध्ययनमा उल्लेख गरिएको छ ।
अनुसन्धानकर्ताहरूले फेला परेका हड्डी तथा अन्य अवशेषहरूलाई यसअघि पहिचान गरिएका सरोपोड प्रजातिसँग तुलना गरेका थिए । केही विशेषता पुराना प्रजातिसँग मिल्दाजुल्दा भए पनि यसको शरीर संरचना, हड्डीको बनावट र केही जैविक विशेषता पूर्णतः फरक देखिएकाले यसलाई नयाँ प्रजातिका रूपमा वर्गीकृत गरिएको हो ।
नयाँ डायनासोरलाई ‘नागाटितान चयाफुमेन्सिस’ नाम दिइएको छ । यसको नामकरण दक्षिणपूर्वी एसियाली लोककथामा वर्णित सर्प ‘नाग’, ग्रिक पौराणिक कथामा उल्लेखित विशाल जीव ‘टाइटन’ तथा जीवाश्म फेला परेको थाइल्यान्डको चयाफुम प्रान्तको नामबाट गरिएको वैज्ञानिकहरूले बताएका छन् ।
युसिएलका अनुसार यस विशाल डायनासोरको जीवन–आकारको पुनर्निर्माण अहिले बैङ्ककस्थित थाइनोसोर सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको छ, जहाँ सर्वसाधारणले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।
टिप्पणीहरू: