बुधबार, १० वैशाख २०८२

एमालेमा आज पाका पुस्ताकाे बाहुल्यता छ, याे राम्राे हाेइन : शंकर पाेखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले अहिले एमालेमा पाका पुस्ताको बाहुल्यता रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीद्वारा आयोजित दोस्रो राष्ट्रिय युवा महिला भेलालाई बुधबार च्यासलमा सम्बोधन गर्दै पोखरेलले युवा पुस्तालाई जोड्नु पर्ने अवस्था रहेको  बताए । ‘प्रतिस्पर्धाको राजनीतिमा यो राम्रो लक्षण होइन, प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन युवालाई जोड्नु पर्छ, पार्टीको राजनीतिमा युवालाई जोड्न सबै लाग्नु पर्दछ’, उनले भने। 

उनले गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजन हुन आवश्यक रहेको बताए । 

समाज निर्माणका लागि पाका, मझौला र युवा पुस्ताको संयोजन आवश्यक रहेको बताए । ‘हामी तीन पुस्ताको संयोजनको आधारमा गतिशील समाज निर्माण हुन्छ भन्ने मान्यता राख्दै आएका छौँ’, उनले भने । 

भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आउँदा एमालेमा युवा नै युवा भएकाे उनकाे भनाई थियाे । त्यस बेला पाका मानिसहरूलाई पार्टीमा जोड्न नेकपा मार्क्सवादीसँग पार्टी एकता गरेको उनले स्मरण गरे ।

सबै पालिका र वडास्तरसम्म अनेमसंघसँगै युवा महिलालाई जोड्नु पर्ने बताए । 

युवा सहभागिता विकासकै लागि नेकपा एमालेले देशै रका युवालाई सहभागी गराएर लोकतन्त्र प्राप्तिका दिन भोली युवा सेलिब्रेसन गर्न लागिएको बताए । भोलिको कार्यक्रम युवा सहभागिताको हेर्न लायकको कार्यक्रम हुने उनले दाबी गरे । भोलिको कार्यक्रमबाट अब देश युवाले बनाउँछन् र बनाउन सक्छन् भन्ने सन्देश  दिनु पर्ने उनको धारणा छ । 

पछिल्लो समय राजावादीको नाममा सामन्तवादी मण्डलेहरू लोकतन्त्रले के दियो भन्दै टाउको उठाउन लागेका उनकाे भनाई  थियाे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ