बुधबार, १० वैशाख २०८२

कांग्रेस–एमालेबीच खटपट


काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीच कुनै समस्या नरहेको दाबी गरे पनि दुई पार्टीबीच खटपट सतहमै देखिन थालेको छ ।

शिक्षक आन्दोलनकै विषयमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कांग्रेसका सांसदहरुले आपत्ति जनाएपछि सत्तारुढ दलबीच नै खटपटको संकेत देखिएको हो ।

शिक्षकको आन्दोलनलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारीको समन्वयमा कक्षा १२ को परीक्षा गर्ने प्रधानमन्त्री ओलीको योजना केही घण्टामै तुहिनुको कारण पनि सत्तारुढ कांग्रेससँगको असहमति नै हो ।

मंगलबार बिहानसम्म प्रधानमन्त्री ओली जसरी पनि १२ कक्षाको परीक्षा निर्धारित मितिमै गर्ने योजनामा थिए । जब कांग्रेस नेताहरुले आपत्ति जनाए, मंगलबार साँझ प्रधानमन्त्री स्वयंले परीक्षा सार्न निर्देशन दिए ।

आन्दोलनरत शिक्षकको सन्दर्भमा  प्रधानमन्त्री ओलीले भनेका थिए, ‘ऐन बोक्न यत्रोविघ्न मान्छे चाहिन्छ ? जति पनि ऐन आएका छन् । सडकमा मान्छे आएर आएका हुन् ? यसअघि पनि विभिन्न सम्बोधन भएका थिए । यसपटक पनि यो विषय उठ्यो । अब सरकारले यसलाई कसरी सम्बोधन गर्ने भन्ने बुझाउनुपर्छ ।’

राहत शिक्षकका सन्दर्भमा उनको भनाई थियो, ‘राहत शिक्षक भनेको अस्थायी हो भन्ने कुरा त उहाँहरूले बुझ्नुभएकै छ । उहाँहरूले जागिर खाँदैमा अस्थायी हो भनेर खानुभएको हो ।’

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले शिक्षकका माग सम्बोधनको विषयमा प्रधानमन्त्रीले दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाए ।

‘प्रधानमन्त्रीले बाहिर यस्तोउस्तो बोल्नुभन्दा पनि संवेदनशील भएर हेर्नुपर्छ’, उनले भने । कांग्रेसका अन्य सांसदले पनि प्रधानमन्त्रीले शिक्षक आन्दोलनका विषयमा रुखो अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।

सत्तासाझेदार दलका नेताहरुबीच एउटै मुद्दामा फरक फरक मत आउनु नै गठबन्धनमा गडबडी भएको संकेत देखिएको एमालेका एक नेताले बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ