- असार ०७, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्यले संगठित अपराध गरिरहेको आरोप लगाएकाे छ।
पार्टी केन्द्रीय समिति बैठकपछि कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै उनीमाथि संगठित अपराध गरिरहेको अभिमत जनतामा गड्दै गएको निष्कर्ष पार्टीको रहेकाे बताएका हुन्।
‘सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले 'राजनीतिक प्रतिशोध' को रुपमा चित्रित गर्दै आएको छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ।’
रास्वपाले सर्वोच्च अदालतले सभापति लामिछानेसम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको दाबी गरेकाे छ।
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ । मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, 'बेल सुनुवाई' मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ ।
सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले 'राजनीतिक प्रतिशोध' को रुपमा चित्रित गर्दै आएको छ । रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ । दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं "प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान" को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश-विदेशमा रहेका आम नेपालीहरु माझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ । यस अभियानका संयोजक सहकोषाध्यक्ष श्री दीपक बोहरालाई तोकिएको छ।
गृहमन्त्री र उनको सचिवालय नै "भिजिट भिसा" मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै "प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ" भन्ने दृष्टान्त अनुरुप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
पार्टी सहमहामन्त्री एवं सांसद श्री सुमना श्रेष्ठ केन्द्रीय सदस्य एवं विधायिकी भूमिकामा केन्द्रीत रहने मनसाय राखी सहमहामन्त्री पदबाट दिनुभएको राजीनामा तथा केन्द्रीय सदस्य श्री अनिल केशरी शाहले उपयुक्त जिम्मेवारीका लागि केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिनुभएको राजीनामा केन्द्रीय समितिबाट अनुमोदन गरिएको छ ।
पार्टीले तेश्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रुपमा विभिन्न कार्यक्रमहरु गर्ने समेत निर्णय गरेको छ ।
मनिष झा
प्रवक्ता (कार्यवाहक)
टिप्पणीहरू: