- असार ०६, २०८०
काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली तनावमा छन्। १०औँमा जस्तै ११औँ महाधिवेशनमा पनि लगभग सर्वसम्मत अध्यक्ष हुने र पदाधिकारीमा पनि आफूले चाहेका व्यक्तिलाई सेट गर्ने योजनामा रहेका ओलीलाई अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तनाव दिएका छन्।
कुनै पनि हालतमा पोखरेल अध्यक्षको उम्मेदवार हुने भएपछि ओलीको सिधा प्रतिस्पर्धा पोखरेलसँगै हुने भएको छ। त्यति मात्रै होइन, अन्य पदाधिकारीमा पनि आफूनिकटलाई जिताउन ओलीलाई सकस परिरहेको छ।
विधान संशाेधन गरेर भए पनि विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष, पृथ्वीसुव्वा गुरुङलाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउने योजनामा रहेका ओलीलाई शंकरबारे फैलिएको हल्लाले गम्भीर बनाएको छ।
तलदेखिकै कार्यकर्ताले ओलीले जिते पनि शंकर पोखरेललाई गाह्राे भएको रिपोर्टिङ गरेका छन्। ‘ओलीको रिसले शंकर पोखरेललाई भोट नहाल्ने मुडमा धेरै साथीहरु हुनुहुन्छ’, ओली गुटकै एक प्रतिनिधिले भने। त्यसो त विष्णु-ईश्वरको सम्बन्ध कहिल्यै सकारात्मक छैन। उनीहरु जहिले एक अर्काको प्रतिस्पर्धी जस्ता देखिन्छन्।
पोखरेल महासचिवको उम्मेदवार भइरहँदा पौडेल समूहले ईश्वरलाई असहयाेग गर्ने गाइँगुईं पनि सुरु भएको छ।
विधान संशाेधनमा लफडा
आफूनिकटका पदाधिकारीलाई सेट गर्नकै लागि ओलीले यही महाधिवेशनमा विधान संशाेधन गर्ने भएका छन्।
विधान संशाेधनको प्रसंग उठ्नेबित्तिकै पोखरेल समूहका नेताहरुले विधान संशोधन गर्ने नै हो भने अध्यक्षको हकमा दुई वर्षे कायकाल पनि लागू हुनुपर्ने अडान राखेका छन्। यसो भन्दैमा संशोधन नहुने होइन।
सामान्यत विधान संशोधन बहुमतले पास गर्ने भएकाले प्रतिनिधिहरु ओली समूहकै धेरै भएकाले ओलीले चाहेको प्रस्ताव पास त हुन्छ तर, निर्वाचनमा परिणाम नकारात्मक देखिन पनि सक्छ।
पोखरेललाई नबोलाउन चौतारीलाई निर्देशन
एमालेको भातृसंस्था प्रेस चौतारीले ओली पक्षीय नेताहरुलाई कार्यालयमै बोलाएर दैनिकजसो अन्तरसंवाद गर्दै आएको छ। तर, अहिलेसम्म चौतारीले ओली पक्षीय उम्मेदवारलाई मात्रै संवादमा सहभागी गराउँदै आएको छ।
अध्यक्ष ओली र महासचिव पोखरेलले ईश्वर पोखरेल खेमाका कसैलाई पनि चौतारीको मञ्चमा ठाउँ नदिन निर्देशन दिएका छन्। ‘माथिबाट हामीलाई संस्थापन पक्षलाई मात्रै ठाउँ दिनु भन्ने छ’, चौतारीका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
टिप्पणीहरू: