बुधबार, २९ असोज २०८२

विपिनकाे त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन: प्रधानमन्त्री कार्की


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन्।

बुधबार विपिनप्रति समवेदना सन्देश प्रकट गर्दै प्रधानमन्त्री कार्कीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले बहादुरी र त्याग देखाएर कैयौं साथीहरूको ज्यान बचाएको कुराले कृतज्ञ बनाएको बताइन्।

‘उहाँ त अब हामीमाझ रहनुभएन। तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ’, उनले भनेकी छन्, ‘उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीक का रूपमा जीवित राखेछ। विपिन जोशीको आत्माले शान्ति पाओस्। उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै विर्सने छैन।’

प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युकाे खबरले आफू स्तब्ध भएकाे बताइन्।

‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु’, उनले भनेकी छन्।

जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, ‘उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो।’

सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनामा छ। जोशीको निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ