बुधबार, १० भदौ २०८३

लेन्दे खोलामा बनेकाे ताल पुरै खुलेकाे छैन, भोटेकोसी–त्रिशूलीमा अझै जोखिम


काठमाडौँ । चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन । 

जल विज्ञान तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बततर्फ मेतेरी पुलबाट करिब १० किलोमिटर माथि लेन्दे खोला थुनिएको अनुमान गरिएको छ । सो स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेसम्म भोटेकोसी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको केन्द्रका बाढीविद् विनोद पराजुलीले जानकारी दिए ।

उनले अर्को सूचना जारी नभएसम्म भोटेकोसी तथा त्रिशूली नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरे। “चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा खुलेको छैन । त्यसैले भोटेकोसी र त्रिशूली क्षेत्रमा जोखिम कायमै छ”, उनले भने ।

केन्द्रले नदीको जलसतह तथा माथिल्लो क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । केन्द्रका अनुसार देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ । केन्द्रको आकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ । यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ ।

यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुबान हुने सम्भावना कम छ । तथापि अर्को सूचना जारी नहुँदासम्म नदीको छेउछाउका बस्ती–बजारका बासिन्दाहरू सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ