बिहिबार, १५ असोज २०८३

धिताेपत्र बाेर्डका अध्यक्षले भने-पुँजीबजार सुधारका काम भइरहेकाे छ


काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उनले उक्त धारणा राखेका हुन् । 

भट्टले नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन बोर्ड कटिबद्ध भई निरन्तर लागिपरेको दावी गरे । 
    
धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र सङ्घसंस्थासँग निरन्तर छलफल भइरहेको उनले बैठकमा जानकारी दिए । 

सरोकारवाला तथा सांसदले उठाएकाे जिज्ञासको उत्तर दिँदै पुँजीबजारलाई नीतिगत तथा कानुनी सुधार गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको बताए । भट्टले नयाँ कम्पनीको प्राथामिक सेयर जारी गर्दा अपनाउनुपर्ने विभिन्न चेकलिष्टलगायत धेरै विषय समावेश गरेर नीतिगत सुधार गर्न लागेका बैठमा जानकारी गराए ।  
 
अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले अर्थमन्त्रालयले पुँजीबजारलाई व्यवस्थित गराउनको लागि २१ बुँदे कार्ययोजनाले व्यवस्थित गर्ने बताए ।

सांसद पर्शुराम तामाङले सरकारले अर्थतन्त्रसँगसँगै पुँजीबजारलाई पनि चलायमान गराउनुपर्ने बताए ।

सांसद सुशील खड्काले पुँजीबजार लगानीकर्ता सङ्घसंस्थाको सङ्ख्या मात्रै धेरै भएकाले पुँजीबजारको वास्तविक समस्या उजागर हुन नसकेको धारणा राखे। 

नेपाल सेयर बजार लगानीकर्ता सङ्घका अध्यक्ष हरिबहादुर केसीले धितोपत्र बोर्डसँगसम्बन्धी ऐन र नियमावली समयसापेक्ष बनाउनुपर्ने बताए । 

सेयरलगानीकर्ता अजयकुमार श्रेष्ठले सेयरबजारमा आफैँ स्टक ब्रोकर र आफैँ लगानीकर्ता हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । 

 नेपाल सेयर बजार लगानी सङ्घका महासचिव खगेन्द्रराज कँडेलले विश्वपुँजी बजारले अपनाएका रणनीति योजनामुताविक नेपाली सेयर बजारलाई समयसापेक्ष बनाउनुपर्ने बताए । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले सूचना प्रविधिको प्रयोग गरेर व्यवस्थित गर्न खोजेको बताए । 

नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले पछिल्ला समय नेप्सेका  देखिएका प्राविधिक समस्या सल्टाउने प्रयास भएको बताए । 

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका नितेशकुमार अग्रवालले प्रथामिक सेयरमा १० कित्ताको प्रावधानलाई पनि समयसापेक्ष बनाउनुपर्ने धारणा राखे ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ