- मंसिर १०, २०८२
काठमाडौँ। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएपछि अहिले उम्मेदवारहरू मतदाता रिझाउनका लागि निर्वाचन क्षेत्र केन्द्रित भएका छन्।
नेपालमा आवधिक निर्वाचन प्रत्येक पाँच वर्षमा हुने व्यवस्था भए पनि भदौ २३/२४ मा भएको जेनजी आन्दोलनका कारण निर्धारित मितिभन्दा अगाडि नै निर्वाचन हुन लागेको हो। तर, यहाँ नेपालमा पहिलो पटक वि.सं. २०१५ सालमा भएको आम निर्वाचनको चर्चा गर्न खोजिएको छ। जुन निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसले दुई तिहाइ सिटमा विजय हासिल गरेको थियो।
नेपालमा पहिलो आम निर्वाचन वि.सं. २०१५ साल फागुन ७ देखि चैत २१ (४५ दिन) लगाएर गरिएको थियो। यातायात र कर्मचारीको असुविधा तथा भौगोलिक अवस्थाका कारण त्यस समयमा सबै ठाउँमा एकैदिन निर्वाचन सम्भव थिएन।
१०९ जना प्रतिनिधिहरूलाई निर्वाचित गर्नका लागि गरिएको यो नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो। वि.सं. २०१५ फागुन १ गते जारी भएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम निर्वाचन सम्पन्न गरिएको थियो।
प्रतिनिधिसभाका लागि तय गरिएको १०९ वटा सिटका लागि ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। देशको कुल जनसङ्ख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नका लागि योग्य रहेका थिए। उक्त निर्वाचनमा जम्मा ४२.१८ प्रतिशत मतदान भएको थियो।
त्यतिबेला २१ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदान गर्न पाउँथे। १०९ मध्ये ७४ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो। नेपाली कांग्रेसले उक्त निर्वाचनमा ३८ प्रतिशत मत प्राप्त गरेको थियो।
निर्वाचनपछि कांग्रेस सभापति एवं संसदीय दलका नेता विपी कोइराला देशकाे पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। उनी २२औँ प्रधानमन्त्री बन्न सफल भएका थिए।
त्यतिबेला अहिले जस्तो जिल्लागत संरचना थिएन। स्थान विशेष वा स्थानभन्दा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी निर्वाचन क्षेत्र छुट्याइएको थियो।
उक्त निर्वाचनमा हिमाल र पहाड क्षेत्रमा २३ प्रशासकीय एकाइ थिए भने तराई क्षेत्रमा १२ तहसिल भनिने प्रशासनिक एकाइ रहेका थिए। एउटा निर्वाचन क्षेत्रमा न्यूनतम २३ हजार जनसङ्ख्या हुनैपर्ने र ५२ हजारभन्दा बढी जनसङ्ख्या हुन नहुने गरी जनसङ्ख्याको आधारमा १०९ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो।
टिप्पणीहरू: