सोमबार, ०८ पुस २०८१

दशैं मनाउन छ लाख गाउँ फर्किए, १० लाख यात्रु बाहिरिने अनुमान


काठमाडौँ, २४ असाेज । घटस्थापनादेखि बुधबार बिहानसम्म ६ लाख  यात्रु उपत्यकाबाट  बाहिरिएका छन् । 

घटस्थापनायता उपत्यकाका विभिन्न ठाउँबाट दसैंका लागि बाहिरिने सवारी चाप धेरै रहेको  ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले बताए ।बाढी र पहिरोका कारण बन्द भएका राजमार्ग चाडबाडका लागि अस्थायी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ । बीपी राजमार्गबाहेक मंगलबार साँझसम्म सबै राजमार्ग सञ्चालनमा आएको सडक विभागले जनाएको छ । तर त्यस्ता राजमार्गमा पानी पर्नासाथ पहिरो खस्ने जोखिम भने कायमै छ ।

राजमार्ग सञ्चालनमा आएसँगै दसैंका लागि उपत्यकाबाट बाहिरिने सवारी चाप बढेको छ । विगत वर्षमा दसैंमा उपत्यकाबाट २० लाख हाराहारी यात्रु बाहिरिने गर्थे । यो पटक निजी सवारी साधन, हवाईमार्गसहित १० लाखभन्दा बढी यात्रु बाहिरिने यातायात व्यवसायीको अनुमान छ । सडक विभागका अनुसार मंगलबार साँझसम्म १४ स्थानमा सडक अवरुद्ध छ । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–नेपालथोक सडक बन्द भएपछि भकुन्डेबेंसी–तेमाल–खैरेनी–सित्खा, नागढुंगा–मुग्लिन–नारायणगढ–हेटौंडा, चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा र नौबिसे–पालुङ–हेटौंडा हुँदै सर्बसाधरण पूर्वतर्फ जाने गरेका छन् । सोमबार रातिबाट कान्ति राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ । काठमाडौं–दक्षिणकाली– सिस्नेरी– कुलेखानी–हेटौंडा सडक पनि सञ्चालनमा आएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले   घर जाने यात्रुको सबैभन्दा बढी भीड नयाँ बसपार्कमा भएकाे बताए । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ