शुक्रबार, ०४ मंसिर २०८३

बंगलादेशमा फेरि तनाव


सन् २०२४ को विरोध प्रदर्शनको दुई वर्षपछि बंगलादेशमा फेरि तनाव चर्किएको छ। बिहीबार, पूर्व प्रधानमन्त्री शेख हसिनाको दल 'आवामी लिग' ले देशभर यी विरोध प्रदर्शन सुरु गरेकाे छ । प्रदर्शनका क्रममा आगजनी, तोडफोड र प्रहरीसँगको झडप समेत भएकाे छ ।

केही दिनदेखि आन्दाेलित गार्मेन्ट मजदुरहरू समेत याे आन्दाेलनबाट प्रभावित भएका छन् । सन् २००९ देखि २०२४ सम्म शेख मुजिबुर रहमानद्वारा स्थापित 'आवामी लिग' को नेतृत्वमा सरकार सञ्चालित थियो। सन् २०२४ मा विद्यार्थी आन्दोलन भएपछि हसिनाको प्रशासन ढलेकाे थियाे ।

शेख हसिनाको सरकार ढलेपछि, मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम प्रशासनले अवामी लिग तथा त्यसका भ्रातृ संगठनहरू जुबो लिग र छात्र लिगका राजनीतिक गतिविधिहरू विरुद्ध कारबाही अघि बढाएको थियाे । शेख हसिनाको सम्भावित फिर्तीको खबरसँगै बंगलादेशमा पुन आन्दाेलन सुरु भएकाे छ । उनको सम्भावित स्वदेश फिर्तीलाई मध्यनजर गर्दै, अवामी लिगका कार्यकर्ताहरू सडकमा उत्रिएका छन् ।

भेम्बर १४ देखि १९ सम्म सञ्चालन हुने पाँच दिने विरोध कार्यक्रमको एक हिस्साका रूपमा, उक्त दलले बिहीबार 'लकडाउन' घोषणा गरेको छ। उनीहरूको आधिकारिक टेलिग्राम च्यानलमा जारी गरिएको एक विज्ञप्तिमा आठवटा मागहरू राखिएकाे छ । अवामी लिगमाथिको प्रतिबन्ध हटाउनु पर्ने, अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण खारेज गर्नुपर्ने, कथित बनावटी फैसला र झूटो मुद्दाहरू फिर्ता लिनु पर्ने, तथा राजनीतिक बन्दीहरूलाई रिहा गर्ने जस्ता विषयहरू समावेश छन् ।

आवामी लिगले नोभेम्बर १४ मा पर्चा वितरण र भित्ते लेखनसहित आफ्नो अभियान सुरु गरेकाे थियाे। नोभेम्बर १५ मा र्‍यालीहरू आयोजना गरिए भने नोभेम्बर १६ मा ज्ञापनपत्रहरू बुझाइए। नोभेम्बर १७ मा, एक वर्षअघि हसिनालाई सुनाइएको मृत्युदण्डको सजायको विरोधमा 'कालो दिवस' मनाइयो।

बिहीबारको बन्दका क्रममा यातायात सेवा, पसल, उद्योग, कार्यालय, बैंक र अन्य प्रतिष्ठानहरू बन्द रहे। यद्यपि, एम्बुलेन्स, अस्पताल, फार्मेसी, दमकल सेवा र सञ्चारमाध्यमलाई भने यसबाट छुट दिइएको छ। अवामी लिगको गतिविधि गोपालगन्ज जिल्लामा—विशेष गरी तुन्गीपाडामा, जुन शेख हसिनाको जन्मस्थलमा सबैभन्दा बढी देखिन्छ।

आइतबार, पार्टीका कार्यकर्ताहरूले सडकमा आफ्नो शक्ति प्रदर्शन गरे । लाठी, डन्डा र धारिला हतियारले सुसज्जित भीडले प्रहरीको अवरोध (ब्यारिकेड) तोड्यो र एउटा बख्तरबन्द गाडी र प्रहरी चौकीमा तोडफोड गर्‍यो । शेख कमल रंगशालालाई निशाना बनायो। उनीहरूले 'जुलाई मेमोरियल' मा आगो लगाए। अगस्ट २०२४ देखि बन्द रहेको अवामी लिगको कार्यालय पनि पुनः खोलियो। 'द डेली स्टार' का अनुसार, बीएनपीका नेता तथा कार्यकर्ताहरूका सातवटा घरमा आक्रमण गरिएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ