बिहिबार, २८ फागुन २०८२

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम


काठमाडौँ । देशका विभिन्न सहरमा  यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । आज मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ । 

यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।

  गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । “हावाको आद्र्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले भने । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ