बिहिबार, १० वैशाख २०८३

आत्मालोचना गर्दै नेतृत्वबाट विदा लेऊ


 

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस । वि.सं. २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले कम्युनिष्ट पार्टी स्थापना गरेका थिए। त्यसपछि क्रमशः अघि बढेको कम्युनिष्ट आन्दोलन अहिले घिस्रिँदो अवस्थामा पुगेको छ।

मुलुकमा पटक–पटक भएका राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिँदै आएका कम्युनिष्ट पार्टीहरू अहिले इतिहासमै कमजोर अवस्थामा छन्। शीर्ष नेतृत्वदेखि गाउँका कार्यकर्तासम्म रक्षात्मक मोडमा उभिएको परिस्थितिले अब कम्युनिष्टहरूको भविष्य के हुने भन्नेमा गम्भीर प्रश्न खडा गरेको छ।

राजनीतिक परिवर्तनका मुद्दाहरूमा निःस्वार्थ भावनाले सहभागी भए पनि सत्ता सञ्चालनमा प्रवेश गरेपछि सिद्धान्त बिर्सँदै जाँदा यो स्थिति आएको घामजत्तिकै छर्लङ्ग छ। जनतालाई सधैं समृद्धिको सपना बाँड्ने तर सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिले प्रायः कम्युनिष्ट नेताहरूप्रति नेपाली समाजमा धेरै प्रश्न उठ्न थालेका छन्।

मुलुकभर संगठन विस्तार भए पनि नेतृत्व तहमा एउटै अनुहार पटक–पटक दोहोरिने र युवा पुस्तालाई अवसर दिन कञ्जुस्याइँ गर्ने प्रवृत्तिका कारण कम्युनिष्ट पार्टीप्रति युवापुस्ताको मोहभंग हुँदै गएको छ। कुनै समय सामाजिक न्यायका पर्याय मानिने कम्युनिष्ट पार्टीका नेताहरू पछिल्लो समय बिचौलियाका साझेदारका रूपमा स्थापित हुन थालेका छन्।

पार्टी स्थापना दिवसका अवसरमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य थुप्रै पार्टीहरूले औपचारिक कार्यक्रम आयोजना गरेका छन्। ती औपचारिक कार्यक्रममा पक्कै पनि आफ्नो पार्टीको प्रशंसा गर्दै अन्य केही पार्टीको आलोचना गरेरै आजका कार्यक्रम सम्पन्न हुनेछन्।

आफूले राम्रो गरेको दाबी गर्दै अरूको आलोचना गरेकै भरमा नेपालका कम्युनिष्ट पार्टीहरू अब उठ्ने छैनन्। पार्टीलाई सिद्धान्तभन्दा निकै टाढा पुर्‍याएका वर्तमान नेतृत्वको राजनीतिबाट विश्राम नै कम्युनिष्ट पार्टीको पुनरुत्थानको आधार हुन सक्छ। आज कम्युनिष्ट पार्टीको यो अवस्थाको मुख्य जिम्मेवार दुई पात्र हुन्—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। तसर्थ, यी दुई पात्रले स्वविवेकले वा सल्लाहमा नेतृत्वबाट विदा लिन ढिला भइसकेको छ।

आशा गरौं, दुवै पार्टीमा नेतृत्वबाट अलग्गिन दबाब सुरु भइसकेको छ। पार्टी कार्यकर्ताको मर्म र भावनाअनुरूप यी शीर्ष नेतृत्वले विदा लिनेछन् र मुरझाएको वामपन्थी शक्तिलाई पुनः जुर्मुराउन भूमिका निर्वाह गर्नेछन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ