- असार ०६, २०८०
मलङ्गवा (सर्लाही) । सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् । जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषिलाई कारवाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन् ।
पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलङ्गवा फर्किएकाे सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।
मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले जानकारी दिइन् । उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए । गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु-याएको थियो । अस्पताल पु-याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राईले बताए । सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएका थिए ।
टिप्पणीहरू: