- असार ०६, २०८०
काठमाडौँ । नेपाल प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दामा रु ५३ करोड ८१ लाख ८३ हजार ८१ जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट दोषी ठहर भई फरार रहेका रौतहटका ३३ वर्षीय गुलसन श्रीवास्तवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, अनुपमशम्शेर जबराले राजस्व अनुसन्धान विभागका निर्देशक तथा अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्य समेतको प्रतिवेदन तथा जाहेरीका आधारमा राजस्व चुहावटसम्बन्धी मुद्दामा श्रीवास्तवलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ श्रीवास्तवले आफू प्रोपाइटर रहेको साङ्ग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयङ्क इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलमार्फत झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरी कारोबार गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।
सो मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाखमा फैसला गर्दै जरिवाना र कैद सजायको ठहर गरेको थियो । अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगञ्जबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।
टिप्पणीहरू: