शुक्रबार, २३ जेठ २०८२

‘देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेकोले अब फेरि राजा ल्याउने भन्ने कुरा हुँदैन’


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सल्लाहकार शारदादेवी भट्ट राष्ट्रियसभाको सदस्य हुन्। ७६ वर्षीया सदस्य भट्ट सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छिन्।

सदस्य भट्टसँग राससले गरेको कुराकानीको सम्पादित अंशः

तीनै तहका सरकारहरुले भ्रष्टाचार अन्त्यका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ। यसका लागि समन्वयात्मक काम गर्नुपर्छ।  एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन। गरिबी छ, वैदेशिक ऋण पनि छ। यस्तो अवस्थामा भ्रष्टाचार हुन्छ भने समाज के होला ? जनताले तिरेको कर हिनामिना गरिनुहुन्न। सबैभन्दा पहिला देशबाट भ्रष्टाचार अन्त्य गर्नुहोस्। भ्रष्टाचार रोक्न सकेमात्र देश उँभो लाग्छ, देशको विकास हुन्छ। सदाचारलाई हामी सबै मिलेर प्रवद्र्धन गरिनुपर्छ।

सुगम भनिए पनि कैलाली सुदूरपश्चिमको एउटा पिछडिएको जिल्ला हो। यहाँ बसोबास गर्ने थारु, चौधरी, दलित र महिलालगायत सबै जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छ। सुदूरपश्चिमलाई अझै पर्याप्त बजेट विनियोजन गरिँदैन। अन्य प्रदेशका तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून बजेट विनियोजन हुन्छ। कैलालीमा महिला बढी समस्यामा परेका छन्।

ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रले उच्च सम्मान गर्नुपर्छ। अहिले बदलिँदो सामाजिक संरचनाका कारण ज्येष्ठ नागरिकले अपहेलित भएको महसुस गर्न थालेका छन्। पहिलो कुरा भनेको छोराछोरीले नै आफूलाई जन्म दिने बाबुआमा प्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ। सन्तानलाई नै आमाबाबुप्रति जिम्मेवार बनाउनुपर्छ। सन्तान नै नभएको खण्डमा भने राज्यले उनीहरुको व्यवस्थापन गर्नुपर्छ। बाँचुञ्जेल भएको सम्पत्ति सबै बाबुआमाकै नाममा हुनुपर्छ। यदि सम्पत्ति भएन भने सन्तानले बाबुआमालाई नहेर्ने चलन पनि छ। सरकारले अलिकति भए पनि भत्ता दिएर बूढाबूढीलाई राहत भएको छ। भत्ता बूढेसकालको सहारा भएको छ। यो राज्यले राम्रो गरेको छ।

हाम्रो जमानामा महिला अधिकार भन्ने थाहै थिएन। अहिले भने महिलाले धेरै अधिकार पाएका छन्। हामीले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, मन्त्री, सांसद, मेयर र उमपेयर पाएकै छौँ। यसलाई महिलाले अधिकार नपाएकै हो भन्न सकिन्न। तर महिलाको हकअधिकारको निम्ति धेरै काम गर्नुपर्ने छ। अझै धेरै सङ्घर्ष गर्नुपर्ने छ। महिलाभित्र पनि टाठाबाठाले अधिकारको बढी उपभोग गरेका छन्। जसले पाउनुपर्ने हो, उस्ले पाउन सकेको छैन। महिलाभित्र पनि समान रुपमा अधिकारको बाँडफाँट हुन आवश्यक छ।

अहिले संविधान संशोधनको चर्चा चुलिएको छ। तर के विषयमा संशोधन गर्ने भन्ने कुरा आएको छैन। अहिल्यै पनि संविधानमा जनताका धेरै विषयवस्तु समावेश भएका छन्। अझै केही अधिकार संशोधनमार्फत सम्बोधन गर्नुपर्ने छ।

काम गर्न विदेश जाने युवालाई रोक्नका लागि देशमा भएका सबै कलकारखाना सञ्चालन गर्नुपर्छ। नेपालमा भएका कलकारखाना कहाँ गए भन्नेबारेमा पनि खोजी हुनुपर्छ। यो खोजी कुनै पनि सरकारले गर्न सकेको छैन। मेरो जानकारीमा नेपालमा कुनै दिन ३० वटाभन्दा बढी कलकारखाना र उद्योग थिए। ती सबै अहिले कहाँ गए ? अहिले देशभित्र काम नपाएपछि नेपाली युवा विदेशमा श्रम बेच्न बाध्य छन्। यो कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ। यसरी नै युवा विदेशिने क्रम बढ्दै गयो भने देशको विकास कसरी हुन्छ? प्रत्येक गाउँ युवाविहीन भइरहेका छन्। पहाडका घरहरु खाली हुन थालेका छन्। यो गम्भीर विषय हो।

देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ। अब फेरि राजा ल्याउने भन्ने कुरा हुँदैन। हामीले लामो समय राजतन्त्र पनि हेरेकै हो। त्यसैले अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधारेर लैजानुपर्छ। तर नेताले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ। देश एउटा गतिमा अगाडि बढिसकेको छ। सरकारले पनि समृद्ध नेपाल सुखी जनताको निम्ति काम गरिरहेको छ। जनता निरास हुनुपर्ने अवस्था छैन। अब विस्तारै जनताको अवस्थामा पनि परिवर्तन आउँछ। देशमै रोजगारीको सिर्जना हुन्छ। सबैभन्दा उत्तम व्यवस्था गणतन्त्र हो। यो हामीले लडेर ल्याएको हो। तर जनतालाई व्यवस्था मात्रै दिएर पुग्दैन। उनीहरुलाई त्यहीअनुसारको सेवा सुविधा पनि दिनुपर्ने हुन्छ।

राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो। अब आउँदो फागुनमा मेरो कार्यकाल सकिँदैछ। राष्ट्रियसभा एउटा सम्मानित सभा हो। यो सभासम्म आइपुग्ने सदस्यहरु लामो सङ्घर्ष गरेर आउनुभएको छ। त्यस अर्थमा पनि यो सभा परिपक्व र अनुभवीको सभा हो। राष्ट्रियसभामा आउने सदस्यले देश र जनताको निम्ति केही न केही योगदान गरेरै आएका छन्। मेरो अनुभवमा राष्ट्रियसभाले संविधानभित्र रहेर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकै छ। आफ्नो काम, कर्तव्य नियमपूर्वक पालना गरेकै छ। सांसदको कामै कानुन निर्माण गर्ने हो। यो भूमिका पनि राष्ट्रियसभाले निर्वाह गर्दै आएको छ। यो सभामा आएका विधेयक पर्याप्त छलफल गरेर मात्रै पास गर्छौं। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ