शुक्रबार, २९ चैत २०८१

सत्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको स्मरण हुन्छ : प्रधानमन्त्री



काठमाडाै‌ं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते  नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएकाे बताएका छन् ।  राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिनकाे रुपमा स्मरण गरे ।

'गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । ' उनले भने ।

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा चैत २६, वैशाख ११, जेठ १५, र असोज तीनलाई विषेश दिनकाे रुपमा ब्याख्या गरेका ओलीले निर्दलीयताको समाप्ती, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्व रहेकाे बताए। प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् भन्दै उनले  तर ती सबै दिन भन्दा युगान्तगारी महत्व फागुन ७ गतेले राख्ने बताए ।

;२००७ साल फागुन ७ गते नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ ।' प्रधानमन्त्री ओलीले भने ।

फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताव्दीको स्मरण गराउँछ भन्दै विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउने बताए । 'सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरुको जात काडिएको जस्ता पिडादायी घटनाहरुको याद गराउँछ ।' उनले भने ।

राणा शासन कालमा  आफ्नै नागरिकले राजधानी काठमाडौं छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानाशाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौं नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जवरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाएकाे स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने 'हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै बंशमा राख्ने षडयन्त्रकारीहरुको कुरुप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ ।'



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ