- असार ०६, २०८०
काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परेमा जनतालाई साथमा लिएर सडकमै गएर सरकारलाई खबरदारी गने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको धारणा राखे । सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिंदै उनले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी नहुन चेतावनी दिए ।
‘आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ ।’ उनले भने । पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको भन्दै उनले भने ‘धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुई तिहाइ तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ ।’
सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको उनको भनाइ थियो । ‘प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ, गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो वहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो’ उनले भने,‘तर, चालिस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ ।’
अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए
उनले भने ‘प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्दछु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौं ।’
टिप्पणीहरू: