- असार ०६, २०८०
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेकाे सरकार नालायक र फासिस्ट हुँदै गएको बताएका छन् । आइतबार पार्टीनिकट समाजवादी प्रेस संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नालायक र फासिस्ट हुँदै जाँदा सडक अराजक बढ्ने बताए । सरकार फासिस्ट हुँदै जानु र सडक अराजक बढ्नु समाधान मान्न नसकिने उनकाे भनाई थियाे।
‘सत्ता नालायक छ, यो फासिस्ट हुँदै जानेछ । जति यो नालायक र फासिस्ट हुँदै जानेछ, सडक त्यति नै अराजक हुँदै जानेछ । यी दुईटै समाधान होईनन् । यस्तो बेलामा एउटा जिम्मेवार, क्रान्तिकारी हस्तक्षेप मुलुकले पर्खिएको छ । त्यो ठाउँमा एकीकृत समाजवादी छ ।' उनले भने ।
साथै, महासचिव भुसालले सबै वामपन्थीहरु एकदिन एकीकृत समाजवादीमा आउने दाबी गरे । नेता भुसाललले आज लाज, घमण्ड र अभिमानले एकीकृत समाजवादीमा नआएकाहरु एकदिन नआई सुख नै नहुने दाबी गरे । ‘कोही पनि वामपन्थी यहाँ नआई सुख छैन । आज लाजले नआएको हुन्, घमण्ड, अभिमानले नआएका हुन् । भोलि यहाँ नआइकन सुख छैन । आजको वाम भाष्य हामीले बनाएका हौं । विचारको हिसाबले एकीकृत समाजवादी सही छ । हाम्रो विचारमा जनतालाई ल्याउनु पर्नेछ ।' उनले भने ।
सत्ताको नालायकी र सडकको अराजकता (पपुलिजम) को विरुद्धमा जिम्मेवार पार्टीको हिसाबले उभिने गरी आफूहरुले निर्णय गरेर अगाडि बढिरहेको उनले बताए । अहिले देखिएका यावत समस्याको समाधान नेपाली कांग्रेस, एमाले र माओवादीले दिन नसक्ने उनको दाबी छ ।
टिप्पणीहरू: