शनिबार, २० पुस २०८१

साइबेरियामा पचास हजार वर्ष पुरानाे म्यामथ भेटियाे


रुसी वैज्ञानिकहरूले सोमबार याकुटियाको पर्माफ्रस्टले ढाकिएको क्षेत्रमा फेला परेको बच्चा म्यामथको उल्लेखनीय रूपमा संरक्षित अवशेषहरू प्रदर्शन गरेका छन् । 

पचास हजार पुरानो पोथी म्यामथलाई ‘याना’ नाम दिइएको छ । यो यसै गर्मीमा फेला परेको नदीको नामबाट राखिएको हो ।

विशेषज्ञहरूका अनुसार ‘याना’ विश्वकै सबैभन्दा राम्रोसँग संरक्षित म्यामथको शव हो र यो अहिलेसम्म फेला परेका सात पूर्ण अवशेषमध्ये एक हो ।

मृत्यु हुँदाको उमेर ‘एक वर्ष वा केही बढी’ अनुमान गरिएको छ, जसको सही उमेर पत्ता लगाउन अब अध्ययनहरू गरिनेछ ।

क्षेत्रीय राजधानी याकुत्स्कको फेडरल युनिभर्सिटी अफ द नर्थ इस्टमा शव प्रदर्शन गरिएको संस्थाले विज्ञप्तिमा जनाएको छ ।

“म्यामथको असाधारण संरक्षणले हामी सबैलाई आश्चर्यचकित पा-यो”, कुलपति अनातोली निकोलायेभले भने।

अनुसन्धानकर्ता म्याक्सिम चेप्रासोभले यो एउटा ‘अद्वितीय खोज’ भएको बताए।  अवशेषको तौल १८० किलोग्राम छ र यो १२० सेन्टिमिटर अग्लो र २०० सेन्टिमिटर लामो छ ।

बटागाइका अनुसन्धान केन्द्र नजिकै शव उत्खनन गरिएको थियो । त्यहाँ अन्य प्रागऐतिहासिक जनावरहरू –घोडा, बाइसन र लेमिङको अवशेषहरू पनि फेला परेका छन् । 

विश्वविद्यालयका अनुसार यो खोजअघि विश्वमा जम्मा छवटा म्यामथका शवहरू फेला परेका थिए – पाँचवटा रुसमा र एउटा क्यानडामा । याकुटिया आर्कटिक महासागरको सिमानामा रहेको दुर्गम क्षेत्र हो । यसको पर्माफ्रस्टले विशाल फ्रिजरको रूपमा काम गर्दछ । यसले प्रागऐतिहासिक जनावरहरूको अवशेषहरू सुरक्षित गर्दछ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ