बुधबार, १० पुस २०८१

सहकारी ठगीमा संलग्न एमालेकी पूर्व प्रदेस सांसद यसरी पक्राउ परिन्


काठमाडौं, १० पुस । गण्डकी प्रदेशका पूर्व सांसद मीना गुरुङ पक्राउ परेकी छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा उनलाई कास्की प्रहरीले मंगलबार पोखरा ११, रानीपौवास्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले अर्का प्रतिवादी आरती गुरुङलाई समेत मंगलबारै पक्राउ गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको उक्त सहकारीको पूरक अभियोगमा ४४ प्रतिवादीमध्ये उनीहरुलाई पनि प्रतिवादी बनाइएको थियो ।

हङकङ ब्यूटी इन्स्टिच्युटकी संचालक मीना गुरुङ वरिष्ठ सौन्दर्यकर्मी एवं समाजसेवी हुन् । २०७४ सालको प्रदेशसभा चुनावमा एमालेबाट समानुपातिक सांसद निर्वाचित उनले सांसदवापत बुझ्ने तलबभत्ता समेत समाजसेवामा खर्चिने गर्थिन् । २०७९ सालको प्रदेशसभा चुनावमा भने उनी कास्की २(२) मा भने पराजित भएकी थिइन् । उनलाई कांग्रेसका बिन्दुकुमार थापाले हराएका थिए ।

२०६५ सालमा पोखरामा सूर्यदर्शन सहकारी खोल्दा ज्ञानबहादुर बमजन लगायतको अनुरोधमा तदर्थ समितिमा रहेकी उनी पछि उपाध्यक्षको भूमिकामा थिइन् । उक्त सहकारीमा पछि जोडिएका जिबी राई लगायतका व्यक्तिहरुले रकम खानेपचाउने नियत राखेपछि उनले तत्कालै सहकारी रजिष्ट्रार कार्यालयमा राजीनामा बुझाएकी थिइन् ।

प्रहरी अनुसन्धानमा प्रतिवादी बनाइएका उनीसहित ज्ञानबहादुर बमजन, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, लीलाबहादुर गुरुङ, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र रीतु गुरुङको ५३ लाख ७६ हजार रुपैयाँ दायित्व कायम हुने देखाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ